बिर्तामोड, माघ १८ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न झापाका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।
आइतबार बिर्तामोडमा संवाद समूहले आयोजना गरेको छलफल कार्यक्रममा दलका प्रतिनिधि, सुरक्षा निकाय र प्रशासनका अधिकारीहरूले आचारसंहिता उल्लंघन नगर्ने, घृणास्पद अभिव्यक्ति र सामाजिक सञ्जालमार्फत हुने दुष्प्रचार रोक्ने तथा निर्वाचनलाई मर्यादित ढंगले सम्पन्न गर्ने साझा अठोट व्यक्त गरे।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचन आचारसंहिता २०८२ का कानुनी प्रावधानबारे जानकारी दिँदै फागुन ४ गतेपछि मात्र जुलुस, र्याली र कोणसभा गर्न पाउने व्यवस्था रहेको बताए। आचारसंहिता उल्लंघनका सम्भावित गतिविधिमाथि प्रशासनले निगरानी गरिरहेको उनले जनाए।
सहायक प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन अधिकृत तेजप्रकाश प्रसाईंले आचारसंहिता उल्लंघन भए उम्मेदवारीसमेत खारेज हुन सक्ने चेतावनी दिए।
सुरक्षा चुनौतीबारे प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको दुरुपयोग प्रमुख चुनौतीका रूपमा रहेको बताइन्। फरार कैदीमध्ये ८० प्रतिशतभन्दा बढी नियन्त्रणमा आइसकेको र अवैध हतियारबाट ठूलो जोखिम नरहेको उनले दाबी गरिन्।
जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी अघि बढिसकेको र मतदाता शिक्षा कार्यक्रम जिल्लाभर सञ्चालन गरिने जानकारी दिए।

छलफलमा दलका प्रतिनिधिहरूले समयअगावै प्रचारप्रसार, अवैध हतियार, फरार कैदी र सामाजिक सञ्जालमा फैलाइने अफवाहप्रति चिन्ता व्यक्त गरे। उनीहरूले आफ्ना कार्यकर्तालाई आचारसंहिताको दायरामा राख्ने र उल्लंघन भए कारबाही गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा एमाले, कांग्रेस, नेकपा, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, लोसपा लगायत दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा नागरिक समाजका सदस्यहरूको सहभागिता थियो। सहभागीहरूले निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने निष्कर्ष निकाले।

