हल्दीबारी । नयाँ नेपाली चलचित्र ‘तिलस्मी’ ले औपचारिक रूपमा निर्माण यात्रा थालेको छ। झापाको हल्दीबारी गाउँपालिका–१, गोलधापस्थित सिंहबाहिनी मन्दिर परिसरमा धार्मिक विधिपूर्वक शुभमूर्हत गर्दै चलचित्रको छायाङ्कन प्रारम्भ गरिएको हो।
मन्दिरको शान्त वातावरणमा कलाकार, निर्माण टिम तथा शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न शुभमूर्हत कार्यक्रममा चलचित्रप्रति उत्साह देखिन्थ्यो।
सुनौलो तारा मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको कथा तथा निर्देशन तारा अधिकारीले सम्हालेकी छन्। चलचित्रको पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका हुन्।
चलचित्रमा महेश खड्का, जान्बी बस्नेत, सुनिसा बजगाईं, रस्मी भट्टलगायत कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ। चलचित्रका दृश्यहरू झापा, इलाम र काठमाडौंका विभिन्न स्थानमा छायाङ्कन गरिने तयारी छ।
निर्देशक अधिकारीका अनुसार ‘तिलस्मी’ले समाजमा घटिरहेका समसामयिक घटनालाई कथावस्तुको रूपमा प्रस्तुत गर्नेछ। “चलचित्रले मनोरञ्जनसँगै दर्शकलाई सोच्न बाध्य पार्ने विषय उठान गर्छ,” उनले भनिन्।
शुभमूर्हत समारोहमा बोल्दै कलाकारहरू महेश खड्का, जान्बी बस्नेत, सुनिसा बजगाईं, भविष्य कार्की र आर्जे सिंहले चलचित्रको कथावस्तु र निर्माण टिमप्रति विश्वास व्यक्त गरे। उनीहरूले ‘तिलस्मी’ दर्शकको मन जित्नेमा आफूहरू आशावादी रहेको बताए।
उत्साहपूर्ण माहोलबीच सुरु भएको ‘तिलस्मी’ अब छायाङ्कनतर्फ अघि बढ्दै नेपाली चलचित्र बजारमा नयाँ अपेक्षा बोकेर प्रवेश गर्ने संकेत देखिएको छ।

