झापा, माघ २१ — झापाको भद्रपुरमा आजदेखि कोशी पाथीभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप सुरु हुँदैछ। भद्रपुर क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ।
भद्रपुर–८ स्थित मेची क्याम्पसको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
लिग ढाँचामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका आठ टोली सहभागी छन्। नेपालबाट आयोजक भद्रपुर क्रिकेट क्लब, गण्डकी हिरोज पोखरा, ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाडौं र फ्रेन्ड्स युथ क्लब डडेल्धुरा सहभागी हुनेछन्। भारतबाट राइनो ल्यान्ड क्रिकेट एकेडेमी आसाम (गुवाहाटी), ग्लोबल स्टार क्रिकेट क्लब लखनउ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी नयाँ दिल्ली र स्नो लायन टिम अफ सिक्किमले प्रतिस्पर्धा गर्नेछन्।
करिब १ करोड २० लाख रुपैयाँ लागतमा आयोजना हुन लागेको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई ११ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही २५–२५ हजार रुपैयाँ, उदीयमान खेलाडीलाई ११ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) लाई ५१ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका तथा स्थानीय दाताको सहयोगमा करिब ६० लाख रुपैयाँ लागतमा क्रिकेट पिच निर्माण तथा स्तरोन्नति गरिएको आयोजकले जानकारी दिएको छ।


















