अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनले आफ्नै व्यक्तिगत लगानीमा नगरपालिकाभित्रका ४ सय ९२ जना निलो परिचयपत्र भएका अपाङ्गता भएका नागरिकको स्वास्थ्य बीमा गराउने घोषणा गर्नुभएको छ।
नगरपालिकामा आज आयोजित अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी कार्यक्रमको पालिका स्तरीय अर्धवार्षिक समीक्षा कार्यक्रममा मेयर गोम्देनले राज्यले रातो परिचयपत्रधारी अपाङ्ग व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराएको भए पनि निलो परिचयपत्रधारी नागरिक त्यस्तो सुविधाबाट वञ्चित रहेको बताए। त्यसैले आफूले व्यक्तिगत खर्चमा स्वास्थ्य बीमा गरिदिने घोषणा गर्नुभएको उहाँले बताउनुभयो।
कार्यक्रममा उपस्थित अपाङ्गता स्वावलम्बी समाज अर्जुनधाराका अध्यक्ष पवन अधिकारीले नगरप्रमुखको यस पहलले अपाङ्गता भएका नागरिकमा ठूलो उत्साह र भरोसा जगाएको बताए। उहाँले मेयरको व्यक्तिगत पहल अत्यन्त महत्वपूर्ण भएको र अपाङ्गता भएका नागरिकलाई मिलिजुली समूह मार्फत संगठित गर्ने कार्य सराहनीय भएको पनि भन्नुभयो।
नगरपालिकामा हाल नगरपालिका, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको सहकार्यमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ। करुणा फाउन्डेसनका पालिका संयोजक सुरेन्द्र गिरीका अनुसार, मेयरको व्यक्तिगत पहलमा स्वास्थ्य बीमा गरिदिने यो कदम सम्भवत: नेपालमै पहिलो हो।
नगरपालिकामा हाल १,२५० जना अपाङ्गता भएका नागरिकको पहिचान भइसकेको छ। तीमध्ये २८५ जना रातो परिचयपत्रधारी र ४९२ जना निलो परिचयपत्रधारी रहेका छन्।
कार्यक्रम नगर उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मेयर गोम्देन, प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरे, महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख सुर्यमाला पन्धाकसहित विभिन्न शाखाका प्रमुखहरू उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार