समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

मुद्रण उद्योग संघ झापाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै मनायो १४ औँ स्थापना दिवस

बिर्तामोड: मुद्रण उद्योग संघ झापाले विद्यार्थीमाझ खुशी साट्दै आफ्नो १४ औँ स्थापना दिवस मनाएको छ। संघले मंगलबार अर्जुनधारा नगरपालिका–५ पानीकलस्थित समाजसेवी आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै स्थापना दिवस मनाएको हो।
कार्यक्रममा संघका अध्यक्ष रोहित भट्टराईले स्थापना दिवस संघको जन्मोत्सवजस्तै भएको उल्लेख गर्दै साना विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए। “थोरै भए पनि सहयोगले विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने विश्वास लिएका छौँ,” उनले भने।
कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य गोविन्द निरौला, विद्यालयका प्रधानाध्यापक मेघराज भट्टराईलगायतले मन्तव्य राखेका थिए। प्रमुख अतिथि विद्यालयका जग्गादाता डम्बर घिमिरेले सहयोगी मनहरूलाई धन्यवाद दिँदै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले अझ मेहनत गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू चन्द्रा तामाङ, तिलकुमारी तिम्सिना, लक्ष्मण कोइराला, स्वयंसेविका कुसुम अधिकारीलगायतको उपस्थिति रहेको थियो। साथै मुद्रण उद्योग संघका सहसचिव टंक निरौला तथा सदस्यहरू पुण्यप्रसाद खतिवडा, विष्णु सुब्बा, रमेश घिमिरे, झरेन्द्र खतिवडालगायतको सक्रिय सहभागिता रहेको थियो।
यसै अवसरमा संघका सदस्य झरेन्द्र खतिवडाबाट ५ हजार १ सय, विष्णु इङनाम सुब्बाबाट ५ हजार र गोविन्द निरौलाबाट १० हजार रुपैयाँ गरी जम्मा २० हजार १ सय रुपैयाँ संघको अक्षयकोषमा हस्तान्तरण गरिएको छ।
संघका अध्यक्ष रोहित भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भानुभक्त खनालले गरेका थिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)