दमक, २९ माघ । नेकपा एमालेको चुनाव परिचालन समिति झापा–५ ले बिहिवार आफ्ना अभियान सम्वन्धी अनुभव र सुझावहरू सन्चारकर्मीसँग साझा गरेको छ।
चुनावी घरदैलो कार्यक्रममा सहभागी हुँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका प्रतिनिधिहरूका क्रममा सञ्चारकर्मीहरूले रिपोर्टिङ अनुभव र अभियान सञ्चालनसँग सम्बन्धित सुझावहरू प्रस्तुत गरेका थिए। उनीहरूले भिड व्यवस्थापन, मिडियासँगको व्यवहार, मतदातासँग संवादमा जवाफ दिने शैलीजस्ता क्षेत्रमा सुधार आवश्यक रहेको बताएका थिए।
यसपछि चुनाव परिचालन मूल समितिका संयोजक देवेन्द्र दाहालले सुझावको जवाफ दिँदै सुधार र व्यवस्थित अभियान सञ्चालनको प्रतिबद्धता व्यक्त गर्नुभयो। उनले एमालेप्रति रहेको भ्रम चिर्ने, जनता–पार्टी संवाद अझ प्रभावकारी बनाउने र गाउँ–गाउँमा जनतासँग प्रत्यक्ष सम्पर्क गर्न अभियान अघि बढाउने कुरा उल्लेख गर्नुभयो।
दाहालका अनुसार, पार्टीको नेतृत्वले जनताले उठाएका सबै प्रश्नको जवाफ दिने अवसर सुनिश्चित गर्दै सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ गाउँ–गाउँ पुगिरहेको छ। उनले जनताको आधारभूत आवश्यकता, स्थायी बसोबास, रोजगार, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा सशक्त काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा मिडिया परिचालन उपसमिति संयोजक इन्द्र भण्डारी, झापा जिल्ला सचिव तुलसी कार्की लगायत अन्य पार्टी नेतृत्वको उपस्थिती रहेको थियो।
ओलीले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गौरादह नगरपालिका, कमल र गौरिगन्ज गाउँपालिकाका मतदातासँग प्रत्यक्ष संवाद गरिसक्नुभएको छ। फागुन ३ पछि ओलीकै उपस्थितिमा दमक क्षेत्रका अन्य ठाउँमा पनि जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ। यसपछि फागुन ७ मा पार्टीको घोषणा पत्र सार्वजनिक गरिने पनि बताइएको छ।


















