समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

चिल्ड्रेन गार्डेनको ३१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न

अभिषेक खतिवडा / हल्दीबारी । गुणस्तरीय शिक्षा, अनुशासन र निरन्तर उत्कृष्ट नतिजाका लागि परिचित चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो ३१औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा शैक्षिक उपलब्धि, विद्यार्थी प्रतिभा र सामाजिक सन्देशलाई केन्द्रमा राख्दै विविध कार्यक्रम प्रस्तुत गरिएको थियो।
हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले पानसमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गर्नुभएको हो। मन्तव्यका क्रममा अध्यक्ष लिङ्देनले विद्यालयले स्थानीय तहको शैक्षिक गुणस्तर अभिवृद्धिमा खेलेको सक्रिय भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि संस्थागत विकासका लागि पालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले पनि विद्यालयको शैक्षिक उपलब्धिलाई उदाहरणीय रहेको जानकारी दिनु भएको छ ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं. १ का अध्यक्ष देवीबहादुर थापा, वडा नं. ३ का अध्यक्ष विष्णुप्रसाद ओली, वडा नं. ४ का वार्ड सदस्य सुरेन्द्र बाह्रकोटी, वडा नं. ३ का वडा सदस्य शर्मिला विश्वकर्मा, शिक्षा अधिकृत जनककुमारी राई, शिक्षा सहजकर्ता दुर्गाप्रसाद अधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालयका प्रिन्सिपल दुर्गामणि गौतमले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक प्रगति, अतिरिक्त क्रियाकलाप र आगामी कार्ययोजना सार्वजनिक गर्नुभएको थियो। उहाँले विद्यालयलाई अझ प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित नयाँ योजनाहरू अघि बढाइएको जानकारी दिनुभएको छ ।
वार्षिक उत्सवको अवसर पारेर कक्षा १ का विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न गरिएको थियो।साथै राष्ट्रिय पति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी तथा एसईई २०८१ तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरू सुरज भट्टराई, अर्यान गिरी, अर्यान शाह, अर्पण गिरी, अनु शाह, अनामिका गिरी, दिनिसा आचार्य र रोजिना आचार्यलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो। शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनुभएका पूर्व शिक्षक ॐ मिश्रलाई विशेष सम्मान प्रदान गरियो भने उत्कृष्ट शिक्षकका रूपमा दिपा घिमिरे सुवेदी र किशोर बास्तोलालाई पनि सम्मान गरिएको थियो।
विद्यार्थीहरूले प्रस्तुत गरेका गायन, नृत्य तथा सांस्कृतिक कार्यक्रमले समारोहलाई आकर्षक बनाएको थियो। साथै समाजमा बढ्दो लागुऔषध र बालविवाह विरुद्ध चेतना फैलाउने उद्देश्यले “कर्तव्य” नामक सन्देशमूलक नाटक मञ्चन गरिएको थियो, जसले उपस्थित दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।
विद्यालय सञ्चालक समितिका अध्यक्ष सुदिप पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य विद्यार्थी रिदम मगर तथा शिक्षक मनोज सुवेदीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन तथा सहजीकरण शिक्षक खिवराज भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)