झापा: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुव्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले झापामा विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ।
भद्रपुरमा शुक्रबार आयोजित निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा विषयक सञ्चारकर्मी अन्तरक्रियामा जिल्ला निर्वाचन कार्यालय झापा का प्रमुख तुलसी नेपालले फागुन ३ गतेदेखि १७ गतेसम्म जिल्लाभर कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचन आयोग नेपाल ले देशभर मतदाता शिक्षा अभियान सञ्चालन गर्दैछ, जसको उद्देश्य मतदान प्रक्रियालाई सरल बनाउने, बदर मत घटाउने र मतदातालाई सचेत गराउने रहेको छ।
उहाँले झापाका १३१ वटै वडामा अभियान सञ्चालन गरिने बताउँदै प्रत्येक वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो। स्वयंसेवकहरूले घरघर तथा बस्तीस्तरमै पुगेर नमुना मतपत्रमार्फत मतदान प्रक्रिया, मताधिकारको महत्व र निर्वाचनको उद्देश्यबारे जानकारी दिनेछन्।
कार्यालयको अपेक्षा अनुसार मतदाता शिक्षाले निर्वाचनमा जनसहभागिता बढाउनुका साथै बदर मतको अनुपात घटाउन उल्लेखनीय योगदान पुर्याउनेछ।
कार्यक्रममा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित निर्वाचन सुनिश्चित गर्न आचारसंहिता लागू गरिएको स्पष्ट पार्नुभयो।
अन्तरक्रियामा झापा निर्वाचन क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले निर्वाचनको पारदर्शिता र मतदाता शिक्षाको आवश्यकताबारे धारणा राख्नुभएको थियो।


















