झापा । नेकपा एमालेले झापा क्षेत्र नं. २ मा २५ वटै वडामा निर्वाचन परिचालन समिति गठन गरेको छ। शनिवार अर्जुनधारा–२ मा वडास्तरीय परिचालन समिति घोषणा गर्दै पार्टीले सबै वडामा समिति गठन सम्पन्न भएको जनाएको छ।
एमालेका नेता एकराज कार्कीका अनुसार वडावडामा परिचालन समिति बनाएर निर्वाचन प्रचारप्रसारलाई गति दिइएको छ। अर्जुनधारा–२ को भेलामा उनले पार्टी एक ढिक्का भएर चुनावमा जाने निर्णय गरेको जानकारी दिएका छन्। उनले सबै वडामा एमाले एक ढिक्का हुने र देवराज घिमिरेलाई विजयी गराउने दृढ संकल्प गरिएको बताए।
साथै कार्कीले आन्तरिक एकतालाई बलियो बनाउनुको विकल्प नरहेको औँल्याउँदै मतदातालाई पार्टीको विकास एजेन्डा अनुसार मतदान गर्न आग्रह गरे। उनले भने, “फागुन २१ को निर्वाचन केवल विकासको मात्र होइन, राष्ट्र जोगाउने सवाल पनि हो।”
उम्मेदवार देवराज घिमिरेले झापा–२ का मतदातासँग मन जितेर मत माग्ने हक आफूलाई रहेको बताए। उनले अघिल्लो कार्यकालमा ल्याएको अरबौं रुपैयाँको विकास बजेट र सम्पन्न परियोजनाका काम उल्लेख गर्दै पुनः निर्वाचित भएर अधुरो काम पूरा गर्न चाहेको बताए।
कोशी प्रदेशका मन्त्री चिन्तन पाठकले घिमिरे विजयी हुँदा जनताको समस्या सिधा सम्पर्कमा राख्न सकिने धारणा व्यक्त गरे। कार्यक्रममा सहभागी अधिकांशले घिमिरे अनुशासित, सालिन र क्षेत्रका लागि धेरै विकास योजना ल्याउने उम्मेदवार भएको प्रतिक्रिया दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार