काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी चुनाव देशविरोधी रहेको बताएका छन्। उनले संविधान संशोधन र सर्वदलीय बैठक नगरी चुनाव गर्नु समयको मात्र बर्बादी हुने र हिन्दु राज्य तथा राजसंस्था फर्काएपछि मात्र चुनावमा जानु उचित हुने बताए।
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न आदेश जारी गरेको थियो। उनी बुधबार काठमाडौं प्रहरी परिसरबाट रिहा भएका हुन्।
प्रसाईंलाई प्रहरीले फागुन ४ गते पक्राउ गरेको थियो। प्रहरीले निर्वाचन विथोल्न सक्ने आशंकामा उनलाई नियन्त्रणमा लिएको थियो।
रिहा भएपछि उनले सर्वोच्च अदालत, सिंहदरबार र संसद् भवन जलाइएको घटनालाई उदाहरण दिँदै २०८४ को चुनाव ०८२ मा गर्न लागिएको दाबी गरे। उनले भने, “संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, सिंहदरबारदेखि स्वास्थ्य चौकीसम्म डढाएर के परिवर्तन आयो? ०८४ को चुनाव ०८२ मै गर्न सिंहदरबारमा आगो लगाइएको हो? यो कुरा प्रष्ट नभइ तपाईंहरू किन चुनाव गराउनु हुन्छ?”
उनले थपे, “मैले बोल्दाखेरी थुनिनुपर्ने? मैले यो कुरा पटक पटक बोलेको हो। सिंहदरबार र संसद् भवनमा आगो लाग्दा कोही पनि नबोल्ने अनि अहिले हतियार र बर्दी देखाएर चुनावमा जाने?”
प्रसाईंले यही परिस्थितिमा चुनाव भएमा नेपाल “दोस्रो युक्रेन” बन्ने चेतावनी पनि दिए। “यो चुनाव भयो भने देश दोस्रो युक्रेन हुन्छ। नेपाल अब युक्रेनको बाटोमा जाँदैछ। के लोकतन्त्रमा बोल्न पाइँदैन? मेरो कुरा मैले भन्न सक्छु।”
उनको यो अभिव्यक्तिले आगामी निर्वाचन र राजनीतिक अस्थिरताबारे नयाँ बहस निम्त्याउने देखिन्छ।


















