चन्द्रगढी , फागुन १४ । झापामा नसर्ने रोगका बिरामीहरूको संख्या तीव्र रूपमा बढिरहेको छ। पछिल्ला तीन वर्षको तथ्यांकले हरेक वर्ष बिरामीको संख्या दोब्बरभन्दा बढी बढेको देखाएको छ।
जिल्ला स्वास्थ्य कार्यालय झापाले भद्रपुरमा आयोजना गरेको नसर्ने रोग र मानसिक स्वास्थ्य साक्षरता अभियानमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो। कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले भने, “मेचीनगरमा सबैभन्दा बढी बिरामी छन् भने झापा गाउँपालिकामा सबैभन्दा कम छन्।”

अर्थिक वर्ष २०७९/८० मा झापामा ८१,९७८ जना बिरामी थिए। २०८०/८१ मा यो संख्या बढेर २,४२,६४१ पुगेको थियो। २०८१/८२ मा संख्या फेरि बढेर ४,४७,६२२ पुगेको छ।
मेचीनगरमा १,४६,९७९, बिर्तामोडमा ९२,५२७, दमकमा ८४,३४५, कनकाईमा २५,६४० र बुद्धशान्तिमा २१,९१८ जना बिरामी रहेका छन्।
सबैभन्दा बढी उच्च रक्तचाप, मधुमेह, फोक्सोसम्बन्धी रोग (सीओपीडी), क्यान्सर र मुटुसम्बन्धी रोग (सिभिडी) फैलिएका छन्। प्रत्येक वर्ष यसमा वृद्धि भइरहेको जनाइएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल र प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरेले सबैलाई नसर्ने रोग र मानसिक स्वास्थ्य साक्षरता अभियानमा सहयोग गर्न आग्रह गरेका थिए।
कार्यक्रममा सहभागी सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरूको रक्तचाप, उचाइ, तौल र मधुमेह जाँच गरिएको थियो।
विशेषज्ञहरू भन्छन् कि बढ्दो बिरामी संख्या स्वास्थ्य पूर्वाधारमा चुनौती पेश गर्दैछ र रोकथाम तथा साक्षरता कार्यक्रमलाई थप सशक्त बनाउनु आवश्यक छ।
