झापा — भारतबाट नेपालतर्फ ल्याइँदै गरेको लागूऔषध ब्राउन सुगर झापामा प्रहरीले बरामद गरेको छ।
हिजो साँझ करिब ५ बजे झापा गाउँपालिका–५ स्थित बिरिङ पुल क्षेत्रमा भारतबाट लागूऔषध नेपाल भित्र्याइँदै गरेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले बीआर ३७ भी ४२१२ नम्बरको मोटरसाइकललाई पछ्याएको थियो।
प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिन खोज्दा चालकले तीव्र गतिमा कुदाउँदै बाह्रदशी गाउँपालिका–३ खड्ग बस्ती जाने बाटोतर्फ भागेका थिए। केही पर पुगेपछि मोटरसाइकल छोडेर दुई जना कारोबारी फरार भएको प्रहरीले जनाएको छ।
भाग्ने क्रममा उनीहरूले प्लास्टिकसहित ९५ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर मकैबारीतर्फ फालेर भागेका थिए। प्रहरीले उक्त लागूऔषध बरामद गरेको छ।
प्रहरीका अनुसार प्लास्टिक हटाएर वास्तविक तौल मापन गर्न बाँकी रहेको छ। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

















