समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कूलद्वारा शैक्षिक सत्र २०८२ महोत्सव सम्पन्न

बिर्तामोड ।झापाको बिर्तामोड नगरपालिका–६ मा अवस्थित तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कूलले शैक्षिक सत्र २०८२ को तेस्रो महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयमा हाल करिब ८०० विद्यार्थी अध्ययनरत छन् भने प्ले ग्रुपदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ।

दुई दिनसम्म सञ्चालन भएको महोत्सवमा पठन–पाठनसँगै अतिरिक्त क्रियाकलाप, प्रयोगात्मक सिकाइ तथा खेलकुदसम्बन्धी विविध कार्यक्रमहरू आयोजना गरिएको थियो। महोत्सवको उद्घाटन प्रमुख अतिथि मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईले गर्नुभएको थियो।

विज्ञापन (Advertisement)Advertisement

कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यार्थीद्वारा सञ्चालन गरिएको रोबोटमार्फत प्रमुख अतिथि तथा अन्य अतिथिहरूलाई फूलमाला अर्पण गरिएको थियो भने ड्रोनमार्फत पुष्पवृष्टि गर्दै महोत्सवको उद्घाटन गरिएको थियो।

महोत्सवको पहिलो दिन ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कक्षागत विद्यार्थीहरूबीच विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएका थिए। सो अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कारसमेत वितरण गरिएको थियो। विद्यालयका अनुसार उक्त कार्यक्रमले विद्यार्थीहरूलाई खेलकुदको महत्त्व तथा स्वस्थ जीवनका लागि यसको आवश्यकताबारे सकारात्मक सन्देश दिएको छ।

महोत्सवको दोस्रो दिन विद्यार्थीहरूले विभिन्न जातजातिका भेषभूषामा राष्ट्रिय झण्डासहित झाँकी प्रस्तुत गर्दै ¥याली निकालेका थिए। त्यसपछि प्रमुख अतिथिबाट औपचारिक रूपमा कार्यक्रम उद्घाटन गरिएको थियो।

सो अवसरमा विद्यार्थीहरूले आफ्नो प्रयोगात्मक सिकाइ प्रदर्शन गर्न विभिन्न स्टलहरू सञ्चालन गरेका थिए। अभिभावकहरूको उल्लेखनीय उपस्थितिमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको ज्ञानवर्धक प्रस्तुति, गीत–संगीत तथा नृत्यले विशेष आकर्षण थपेको थियो। शिक्षकहरूले पनि कला तथा गायन प्रस्तुति दिएका थिए भने विभिन्न मनोरञ्जनात्मक खेलहरू र खानाका परिकारहरूको समेत व्यवस्था गरिएको थियो।

विद्यालयले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिँदै आधुनिक प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा तथा विविध अनौपचारिक सिकाइ विधिहरूमार्फत शिक्षाको स्तर उकास्ने प्रयास गरिरहेको जनाएको छ। दक्ष शिक्षकहरूको व्यवस्थापनमार्फत शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरूको समग्र विकासमा निरन्तर पहल भइरहेको विद्यालय प्रशासनको भनाइ छ।

छोटो अवधिमै विद्यालय पूर्वी नेपालको उदीयमान शैक्षिक केन्द्रका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै विद्यालय व्यवस्थापनले आगामी दिनमा यसलाई देशकै नमूना विद्यालयका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)