सिक्किमको राजधानीमा आजदेखि ‘सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव २०२६’ औपचारिक रूपमा सुरु भएको छ। सूचना तथा जनसम्पर्क विभागको आयोजनामा सूचना एवं प्रसारण मन्त्रालय र राष्ट्रिय चलचित्र विकास निगमको संयुक्त तत्वावधानमा महोत्सव सञ्चालन भइरहेको हो।
राजधानीस्थित मनन केन्द्रमा आयोजित उद्घाटन समारोहमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर प्रमुख अतिथि र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि रहेका थिए। राज्यपाल माथुरले महोत्सवको औपचारिक उद्घाटन गर्दै यसको शुभारम्भ घोषणा गरे। महोत्सव आगामी मार्च २२ गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सूचना तथा जनसम्पर्क विभागको पहलमा पहिलो पटक आयोजना गरिएको यो फिल्म महोत्सव सिक्किमका लागि गर्वको विषय भएको बताए। उनले प्रधानमन्त्री नरेन्द्र मोदी, राज्यपाल ओमप्रकाश माथुर, सूचना एवं प्रसारण मन्त्रालय तथा राष्ट्रिय चलचित्र विकास निगमप्रति निरन्तर सहयोगका लागि आभार व्यक्त गरे।
मुख्यमन्त्री तामाङले सिक्किमलाई कला, संस्कृति र रचनात्मक अभिव्यक्तिको अन्तरराष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्ने दिशामा यो महोत्सव महत्वपूर्ण कोशेढुंगा हुने विश्वास व्यक्त गरे। उनले पूर्वी हिमालय क्षेत्रमा सिनेमा, सिर्जनशीलता र सांस्कृतिक आदान–प्रदानको सशक्त केन्द्रका रूपमा सिक्किमलाई अघि बढाउने लक्ष्य रहेको उल्लेख गरे।
सिनेमालाई केवल मनोरञ्जनको माध्यम नभई प्रभावशाली कथा–कथनको साधनका रूपमा व्याख्या गर्दै उनले यसले समाजबीच आपसी समझदारी र सम्बन्ध सुदृढ गर्ने बताए। साथै, महोत्सवले अर्थपूर्ण चलचित्र निर्माण, संवाद, सहकार्य र नवप्रवर्तनका लागि प्रभावकारी मञ्च प्रदान गर्ने पनि उनले बताए। युरोपेली संघ तथा अन्य सहभागी देशहरूसँगको सहकार्यप्रति सन्तुष्टि व्यक्त गर्दै उनले यसले जन–जनबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उल्लेख गरे।
मुख्यमन्त्री तामाङले सिक्किम, उत्तर बंगाल, नेपाल र भुटानका फिल्म निर्माताका लागि खुला लघु चलचित्र प्रतियोगिता तथा फिल्म बजारजस्ता कार्यक्रम समावेश गरिएको जानकारी दिए। यसले सर्जकहरूलाई विचार प्रस्तुत गर्न, वित्तीय अवसर खोज्न र व्यापक दर्शकसम्म पुग्न सहयोग गर्ने बताए। साथै, कार्यशाला र मास्टरक्लासमार्फत व्यावहारिक सीप र ज्ञान प्रदान गरिने उल्लेख गर्दै उनले यसले रचनात्मक क्षेत्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
उनले सन् २०१९ देखि राज्य सरकारले रचनात्मक अर्थतन्त्र विकासका लागि विभिन्न पहल गर्दै आएको उल्लेख गर्दै सिक्किमलाई फिल्म निर्माणको सम्भावनायुक्त गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको बताए। उनले नेपाली चलचित्र प्रमाणन बोर्ड स्थापना गर्ने प्रस्तावबारे पनि चर्चा गरे।
मुख्य वक्ताको रूपमा प्रोड्युसर्स गिल्ड अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत नितिन तेज आहुजाले सिक्किमको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको उच्च प्रशंसा गर्दै राज्यमा फिल्म निर्माणको अपार सम्भावना रहेको बताए।
कार्यक्रममा सिक्किमका फिल्म निर्माताहरू त्रिवेणी राई, प्रशान्त रसाइली र साम्तेन भोटियालाई चलचित्र क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान गरिएको थियो। उनीहरूलाई मुख्यमन्त्री तामाङले सम्मानपत्र तथा खादा प्रदान गरे।
त्यसैगरी लघु चलचित्र प्रतियोगिताको नतिजा पनि सार्वजनिक गरिएको थियो। दार्जिलिङका सुजन लम्जेल निर्देशित ‘डोकोको छाहारी’ ले प्रथम पुरस्कार प्राप्त गर्दै तीन लाख रुपैयाँ जित्यो। दोस्रो पुरस्कार अनन्तदीप रसाइलीको ‘सेतोघारी’ र तेस्रो पुरस्कार अरबिन्द राईको ‘इटरनल किनशिप’ लाई प्रदान गरियो।
कार्यक्रममा सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपूर्ण आलेले स्वागत मन्तव्य राख्दै महोत्सवको उद्देश्य र महत्वबारे प्रकाश पारेकी थिइन्।
