कचनकवल, झापा । झापाको कचनकवल गाउँपालिकामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। कचनकवल-४ केचनास्थित सडकमा बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको BR-11-C-3071 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र-१-०१-००२ ह ६४११ नम्बरको सिटी सफारी एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी मोटरसाइकल चालक कचनकवल गाउँपालिका वडा नम्बर ४ निवासी अन्दाजी ५० वर्षीय शुकदेव गणेश गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल पठाइएकोमा चिकित्सकले चेकजाँचका क्रममा बेलुका ७:१५ बजे मृत घोषणा गरेका थिए। साँझ साढे ६ बजेतिर भएको उक्त दुर्घटनाले स्थानीय क्षेत्र शोकमग्न बनेको छ।
घटना लगतै इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले सिटी सफारी चालक कचनकवल-४ निवासी १९ वर्षीय सैजन मियालाई नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनामा संलग्न सिटी सफारी र मोटरसाइकललाई समेत आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।


















