झापा । नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा सहभागी मन्त्रीको छनोटलाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ । विगतमा ठगी र कीर्ते कार्यमा संलग्न रहेको आरोप लागेका व्यक्तिलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै सरकारको नैतिकतामाथि प्रश्न उठाइएको हो ।
बालेन नेतृत्वको मन्त्रिपरिषद्मा श्रममन्त्रीका रूपमा नियुक्त दिपक कुमार शाह को विगत निकै विवादास्पद देखिएको छ । प्राप्त तथ्यहरूका अनुसार, साह यसअघि प्रहरीको फन्दामा परिसकेका व्यक्ति हुन् ।
के थियो घटना ?
वि.सं. २०७३ असोज १२ गते तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाले साहलाई ठगीको आरोपमा पुतलीसडकबाट पक्राउ गरेको थियो । उनले पुतलीसडकमा ‘वर्ल्ड वाइड कन्सल्टेन्सी’ सञ्चालन गरेर एमविविएस (MBBS) परीक्षा पास गराइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट मोटो रकम ठगी गरेको प्रहरीको दाबी थियो ।
प्रहरी अनुसन्धानका क्रममा खुलेको अर्को सनसनीपूर्ण तथ्य के थियो भने, साहले आफूलाई ‘डाक्टर’ भन्दै सर्वसाधारणलाई भ्रममा पारेका थिए । तर, प्रहरीले पुष्टि गरेअनुसार उनी वास्तविक डाक्टर नभई ‘नक्कली डाक्टर’ बनेर ठगी धन्दामा सक्रिय थिए ।
सुशासनको नारामाथि प्रश्न
प्रधानमन्त्री बालेन शाहले पहिलो मन्त्रिपरिषद् बैठकमा ‘काम गर्न नसके राजीनामा दिन’ मन्त्रीहरूलाई कडा निर्देशन दिए पनि, मन्त्री चयनमै ‘दाग’ लागेका व्यक्ति पर्नुले उनको सुशासनको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ ।
श्रममन्त्री साहको विवादका मुख्य पक्षहरू:
- ठगी मुद्दा: २०७३ मा पक्राउ परी कानुनी कारबाही भोगेको रेकर्ड ।
- नक्कली उपाधि: डाक्टर नभई डाक्टरको पहिचान प्रयोग गरेको प्रहरी पुष्टि ।
- नैतिकताको प्रश्न: वैदेशिक रोजगारी र श्रम बजारको सुधार गर्ने मन्त्रालयमा ठगीको पृष्ठभूमि भएको व्यक्तिको नियुक्ति ।
सल्लाहकार टिममा पनि चर्चा
यसैबीच, प्रधानमन्त्री बालेनले आफ्नो राजनीतिक सल्लाहकारमा असिम शाहलाई नियुक्त गरेका छन् । सरकार गठनको सुरुवाती चरणमै नियुक्तिहरू विवादमा तानिएपछि ‘सिस्टम’ सुधार्ने बालेनको अभियानमा कस्तो असर पर्ला भन्ने चासो बढेको छ ।
यस विषयमा प्रधानमन्त्रीको सचिवालय वा स्वयं श्रममन्त्री साहले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । यद्यपि, ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति र मन्त्रीहरूको विवादित छनोटबीचको तालमेललाई लिएर सामाजिक सञ्जालमा भने निकै टिकाटिप्पणी भइरहेका छन् ।



















