समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

दमकमा बृहत् रक्तदान कार्यक्रम, उत्कृष्ट समाजसेवीहरू सम्मानित

झापा ।दमकमा स्वार्गिक मार्ग संघ नेपालको आयोजनामा बृहत् रक्तदान कार्यक्रम तथा समाजसेवी सम्मान समारोह सम्पन्न भएको छ। कार्यक्रम संस्थाका संरक्षक स्वामी बाल तपस्वी सत्गुरु ॐनन्द मास्टर गड्यान्जलको जन्मोत्सवको अवसरमा आयोजना गरिएको हो।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा नेपालमै सर्वाधिक १८५ पटक रक्तदान गर्ने प्रेमसागर कर्मचार्य, मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइराला, रक्ततत्त्व विशेषज्ञ डाक्टर विपिन नेपाल, सशस्त्र प्रहरीका एसएसपी रमेश कुमार पाण्डे तथा दमकका समाजसेवी शंकर कुमार शारदा रहेका छन्।

विज्ञापन (Advertisement)Advertisement

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थ शर्मा तथा संरक्षक स्वामी बाल तपस्वी सत्गुरु ॐनन्द मास्टर गड्यान्जलले दोसल्ला ओढाई कदरपत्रसहित सम्मान गरेका थिए।

सम्मानित व्यक्तित्वमध्ये प्रेमसागर कर्मचार्यलाई रक्तदान क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानका लागि सम्मान गरिएको हो। त्यस्तै, डा. भगवान कोइरालालाई मुटुरोगीको उपचार, बालस्वास्थ्य सेवा तथा विभिन्न स्थानमा अस्पताल सञ्चालनमार्फत पुर्‍याएको योगदानको कदर गरिएको आयोजकले जनाएको छ। डा. विपिन नेपाललाई रगतको गुणस्तर सुनिश्चित गर्ने तथा रक्तदान अभियानमा पुर्‍याएको भूमिकाका लागि, एसएसपी रमेश कुमार पाण्डेलाई सशस्त्र प्रहरी सेवामार्फत देश र जनताको सेवामा दिएको योगदानका लागि तथा शंकर कुमार शारदालाई सामाजिक क्षेत्रमा सक्रिय योगदानका लागि सम्मान गरिएको हो।

संस्थाका केन्द्रीय अध्यक्ष खेमबहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थ शर्मा र सामाजिक अभियन्ता बिन्दु सिटौला लकीले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष रामप्रसाद चाम्लिङले राखेका थिए भने सञ्चालन महासचिव यादव बान्तवाले गरेका थिए।

कार्यक्रममा ११६ जनाले रक्तदान गरी कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)