झापा । अर्जुनधारामा जारी यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ बाट कोलकाताको क्रिकेट जोन अन्दल र इनरुवा क्रिकेट एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्।
समूह चरणको अन्तिम खेलमा अन्दलले इनरुवाको फुलबारी स्पोर्ट्स एकेडेमीलाई ४ रनले पराजित गर्दै समूह विजेता बन्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको अन्दलका लागि वेद कुमारले उत्कृष्ट ७३ रनको योगदान दिए। अंशु कुमारले २४ रन जोड्दा अन्य ब्याटरले सामान्य साथ दिए।
जवाफमा १४२ रनको लक्ष्य पछ्याएको फुलबारीले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो। मुकेश यादवले ५५ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। प्रिन्स कुमारले ३१ तथा समर्थ रायाले २२ रन जोडे। अन्दलका साजिद सेखले २ विकेट लिँदा वेद कुमारले अलराउन्ड प्रदर्शन गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।
यो हारसँगै फुलबारी प्रतियोगिताबाट बाहिरिएको छ। समान ४ अंक भए पनि राम्रो रनरेटका आधारमा इनरुवा अघि रहँदा फुलबारी बाहिरिएको हो।
यसअघि भएको खेलमा इनरुवा क्रिकेट एकेडेमीले पटनाको हाई पर्फमेन्स क्रिकेट एकेडेमीलाई ९ विकेटले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो। पहिले ब्याटिङ गरेको एचपी १४.२ ओभरमा ३९ रनमै समेटिँदा इनरुवाका सुदिप कुमार उराउले ३ विकेट लिए। अरमान अन्सारी र सलमान राइनले समान २–२ विकेट झारे।
सामान्य ४० रनको लक्ष्य इनरुवाले ६.१ ओभरमै १ विकेट गुमाएर पूरा गर्यो।
समूह ‘बी’ बाट अन्दल ६ अंकसहित शीर्ष स्थानमा रहँदा इनरुवा ४ अंकसहित दोस्रो स्थानमा रह्यो। समान अंक भए पनि रनरेट कमजोर हुँदा विराटनगरको लायन्स क्रिकेट एकेडेमी प्रतियोगिताबाट बाहिरिएको छ भने एचपीले २ अंक मात्रै जोड्न सक्यो।

यसअघि समूह ‘ए’ बाट बोस्टन क्रिकेट एकेडेमी र सरस्वती क्रिकेट एकेडेमीले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।
अब सेमिफाइनल खेलहरू अर्जुनधारा–९ स्थित नमुना खेलमैदानमा सोमबार हुनेछन्। बिहान ९ बजे हुने पहिलो खेलमा बोस्टन क्रिकेट एकेडेमी र इनरुवा क्रिकेट एकेडेमी भिड्नेछन् भने दिउँसो १ बजे क्रिकेट जोन अन्दल र सरस्वती क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।
अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सह–आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल वैशाख ८ गते हुनेछ। विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।


















