भद्रपुर (झापा), वैशाख ७ । उपाधिको दाबेदार मानिएको विभागीय टोली नेपाल पुलिस फुटबल क्लबले झापाको भद्रपुरमा जारी ‘ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ मा सानदार सुरुआत गरेको छ । आइतबार भएको उद्घाटन खेलमा आयोजक चन्द्रगढी युवा क्लबलाई ६–० को फराकिलो अन्तरले स्तब्ध पार्दै पुलिस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

​पुलिसको एकतर्फी जितमा स्ट्राइकर रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् भने मिना देउवाले दुई र अनुष्का शेर्पाले एक गोल योगदान गरे । चन्द्रगढी रंगशालामा भएको खेलको पहिलो मिनेटमै रेखाको गोलबाट पुलिसले अग्रता लिएको थियो । मिना देउवाको हेडर पासलाई सदुपयोग गर्दै उनले टोलीलाई सुरुवाती अग्रता दिलाएकी हुन् । पुलिसका लागि दोस्रो गोल मिना देउवाको नाममा रह्यो । रेखाको पावरफुल प्रहार आयोजक टोलीकी गोलकिपर सवनम राईले नियन्त्रणमा लिन नसक्दा रिबाउन्ड बलमा मिनाले गोल गरेकी थिइन् ।

​२९ औँ मिनेटमा सम्झना लावतीको पासमा मिनाले व्यक्तिगत दोस्रो गोल गरिन् भने ३८ औँ मिनेटमा रेखाले मैदानको मध्यभागबाट बल एक्लै अगाडि बढाउँदै गोल गरेपछि पहिलो हाफमै पुलिस ४–० ले अघि रह्यो । दोस्रो हाफमा थप आक्रामक बनेको पुलिसका लागि ७२ औँ मिनेटमा वैकल्पिक खेलाडी अनुष्का शेर्पाले पाँचौँ गोल गरिन् । उनले रेखाको पासमा देब्रे बार च्याप्दै प्रहार गरेको बलले जाली चुमेको थियो । खेलको ७७ औँ मिनेटमा मिनाकै पासमा हेडरमार्फत गोल गर्दै रेखाले ह्याट्रिक पूरा गरिन् । यो जारी प्रतियोगिताकै पहिलो ह्याट्रिक हो ।

​घरेलु मैदानमा चन्द्रगढीका खेलाडीले फितलो प्रदर्शन गरे । पहिलो हाफको अतिरिक्त समयमा पुलिसकी गोलकिपर उषा नाथको हातबाट फुत्किएको बललाई रेखा विष्टले पोस्टको दिशा दिन नसक्दा आयोजक टोलीले सान्त्वना गोल गर्ने अवसर समेत गुमायो । ह्याट्रिककर्ता रेखा पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरिन् । अब पुलिसले सेमिफाइनल प्रवेशका लागि भारतको रानी लक्ष्मीबाई स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।

​मंगलबारको खेल सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टिङ क्लबबीच हुने आयोजकले जनाएको छ । महिला फुटबलमा नेपालकै सर्वाधिक पुरस्कार राशि रहेको यस प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार