काठमाडौँ, वैशाख ७ । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मका चारै तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सोसाइटीको केन्द्रीय तदर्थ समितिले विधानको नयाँ व्यवस्थाअनुसार पालिका, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन मिति तय गरेको हो ।
सोसाइटीका महामन्त्री मीनबहादुर मल्लका अनुसार आगामी असार २४ र २५ गते केन्द्रीय कार्यसमितिको निर्वाचन हुनेछ । त्यसअघि पहिलो चरणमा वैशाख २६ देखि जेठ ४ गतेसम्म देशभरका पालिका शाखा समितिहरूको निर्वाचन सम्पन्न गरिनेछ । यस्तै, जेठ १५ गते जिल्ला शाखा र असार २ गते सातै प्रदेश समितिको निर्वाचन हुने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
लामो समयदेखि विवादमा रहेको रेडक्रसमा सरकारले विनोदकुमार शर्माको नेतृत्वमा केन्द्रीय तदर्थ समिति गठन गर्दै निर्वाचन गराउने जिम्मेवारी सुम्पेको थियो । सोही म्यान्डेटअनुसार संशोधित विधान २०२० (अठारौँ संशोधन) र निर्वाचन नियमावली २०४९ (चौथो संशोधन) का आधारमा निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।
नयाँ विधानमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यसमितिमा बस्न नपाउने व्यवस्था गरिएको छ । संस्थालाई विवादमुक्त बनाउन र लोकतान्त्रिक पद्धतिबाट नयाँ नेतृत्व चयन गर्न यो निर्वाचन महत्त्वपूर्ण हुने महामन्त्री मल्लले बताए । सरकारले तोकेको कार्यभारअनुसार नै सबै निकायको निर्वाचन तयारी भइरहेको सोसाइटीले जनाएको छ ।


















