हल्दीबारी संवाददाता:
झापा, ८ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–३ नयाँबस्ती खण्डमा मंगलबार बिहान अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा हल्दिबारी गाउँपालिका–३ की ६८ वर्षीया मन्जुधरी ढकालको मृत्यु भएको हो । बिर्तामोडबाट सुरुङ्गातर्फ आउँदै गरेको प्र१–०१–००१ह ८२५२ नम्बरको अटो अनियन्त्रित भई विपरीत दिशाबाट जाँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेकी ढकालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा अपराह्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अटोमा सवार हल्दिबारी–३ का ५७ वर्षीय जीवन ढकाल, ५० वर्षीया हरिमाया ढकाल, ३५ वर्षीया भीमा ढकाल र १३ वर्षीय रोजन ढकाल घाइते भएका छन् । त्यस्तै, हल्दिबारी–५ का १३ वर्षीय प्रदीप नेपाल र मोटरसाइकल चालक मोरङ मिक्लाजुङ–६ का ३७ वर्षीय चन्द्र बहादुर खत्री पनि घाइते भएका छन् । घाइतेमध्ये जीवन ढकालको सुरुङ्गास्थित प्रधान मेडिकलमा उपचार भइरहेको छ भने अन्य सबैको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले उल्लेख गरेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले घटनास्थलबाट दुर्घटनामा परेका दुवै सवारी साधन र अटो चालक हल्दिबारी–३ निवासी ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको टोली खटाइएको र मृतकको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।


















