काठमाडौँ: ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ हाम्रो बालापन नेपालका अध्यक्ष मथुरा थापाद्वारा लिखित पुस्तक ‘कोमल अभिभावकत्व’ को विमोचन तथा सम्मान कार्यक्रम आज काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा अभिभावक, शिक्षाविद्, मनोविद् तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।

​प्रतिनिधिसभा सदस्य डा. धनञ्जय रेग्मीको प्रमुख आतिथ्यमा पुस्तकको औपचारिक विमोचन गरिएको हो। यस कृतिमा बालबालिकालाई माया, ममता र सकारात्मक व्यवहारका माध्यमबाट कसरी हुर्काउन सकिन्छ भन्ने विषयलाई व्यावहारिक र अनुभवजन्य ढङ्गले प्रस्तुत गरिएको छ।

​विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. रेग्मीले बालबालिकाको मानसिक स्वास्थ्यप्रति सचेत रहन अभिभावकहरूलाई आग्रह गर्नुभयो। उहाँले सामान्य तनावले पनि बालबालिकाको मानसपटलमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै भन्नुभयो, “बालबालिकाहरू कोमल मनका हुन्छन्। उनीहरूको क्षमता विकासका लागि सकारात्मक वातावरण सिर्जना गर्ने र सिकाउने प्रमुख जिम्मेवारी अभिभावककै हो।”

​त्यस्तै, मनोविद् डा. गङ्गा पाठकले बालबालिकाको भावनात्मक विकासमा अभिभावकको व्यवहार निर्णायक हुने बताउनुभयो। उहाँले बालबालिकालाई डर वा दबाबभन्दा पनि समझदारी, सहानुभूति र संवादमार्फत मार्गदर्शन गर्नुपर्नेमा जोड दिनुभयो। साहित्यकार डा. विदुर चालिसेले यो पुस्तक सबै अभिभावकका लागि एक उपयोगी मार्गदर्शक कृति भएको विश्वास व्यक्त गर्नुभयो।

​कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमिदप्रसाद बागचन्द, प्रेस काउन्सिलका सदस्य शान्तराम बिडारी, पत्रकार महासङ्घकी सदस्य शोभा अर्याल र प्याब्सन ललितपुरका अध्यक्ष अर्जुन महर्जन लगायतले असल अभिभावक बन्न यो पुस्तकले सहयोग पुर्‍याउने भन्दै शुभकामना व्यक्त गर्नुभयो।

​लेखिका मथुरा थापाले बालबालिकाको क्षेत्रमा लामो समय काम गर्दाका अनुभव, देशका विभिन्न स्थानमा पुग्दा देखिएका व्यावहारिक समस्या र तिनका समाधानलाई पुस्तकमा समेटेको जानकारी दिनुभयो। उहाँका अनुसार पुस्तकले बाल मनोविज्ञान, अभिभावकको भूमिका र भावनात्मक विकासका विविध पक्षलाई सरल भाषामा व्याख्या गरेको छ।

​सोही अवसरमा संस्थाले समाजसेवा, पत्रकारिता र शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरेको थियो। सम्मानित हुनेहरूमा बाल मनोविद् डा. गङ्गा पाठक, राससका पत्रकार प्रकाश सिलवाल र समाजसेवी तथा फोटो पत्रकार पासाङकाजी शेर्पा लगायत हुनुहुन्छ। आयोजक संस्थाले यस कार्यक्रमले अभिभावक शिक्षा र बाल अधिकारप्रति जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार