झापा । झापाको अर्जुनधारामा सम्पन्न यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीको उपाधि बोस्टन क्रिकेट एकेडेमीले हात पारेको छ । मंगलबार भएको फाइनल भिडन्तमा मेचीनगरको सरस्वती क्रिकेट एकेडेमीलाई ४० रनले स्तब्ध पार्दै आयोजक बोस्टनले उपाधिमाथि कब्जा जमाएको हो ।
अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । बोस्टनको जितमा कप्तान आनोक राईको प्रदर्शन मुख्य रह्यो । उनले मात्र ४२ बलको सामना गर्दै ९२ रनको विस्फोटक इनिङ्स खेलेपछि टोली बलियो स्थितिमा पुगेको थियो ।
१४९ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको सरस्वती क्रिकेट एकेडेमीले १८.१ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो । सरस्वतीका ब्याटरहरू बोस्टनको कसिलो बलिङसामु खुलेर खेल्न नसक्दा उपाधिबाट विमुख हुनुपर्यो ।
फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ बोस्टनका कप्तान आनोक राई घोषित भए । उनले ब्याटिङसँगै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ दि सिरिज’को अवार्ड समेत जिते । राईले प्रतियोगिता अवधिभर कुल ३ सय ९७ रन जोडेका थिए भने उनको स्ट्राइक रेट २०६.७७ रहेको थियो । प्रतियोगितामा उनले तीन पटक म्यान अफ दि म्याचको उपाधि जितेका थिए ।
प्रतियोगिताको अन्य विधातर्फ सरस्वतीका मन्दिप आचार्य १० विकेटसहित ‘बेस्ट बलर’ चुनिए भने बोस्टनका प्रत्यक्ष बास्तोला ‘बेस्ट फिल्डर’ घोषित भए ।
विजेता बोस्टन क्रिकेट एकेडेमीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको सरस्वतीले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सह–आयोजनामा भएको यस प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीको सहभागिता रहेको थियो ।

विजयी खेलाडीहरूलाई अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, नेपाल क्रिकेट संघ कोशी प्रदेशका सचिव टिकाराम पुरी लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङ्देनले गरेका थि

















