बिर्तामोड । वरिष्ठ गायक तथा चलचित्र प्रस्तुतकर्ता रामकृष्ण ढकालले नेपाली कथानक चलचित्र ‘मालती मङ्गले’ एक पूर्ण पारिवारिक र सामाजिक चलचित्र भएको बताउनुभएको छ । गोर्खा फाउण्डेशनद्वारा झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी वैशाख २५ गतेदेखि देशभरका हलहरूमा एकसाथ प्रदर्शन हुन लागेको यस चलचित्रलाई माया गरिदिन दर्शकहरूसँग आग्रह गर्नुभएको हो ।

​प्रस्तुतकर्ता ढकालले चलचित्रमा प्रेमिल भावनाका साथै समाजको यथार्थ चित्रण गरिएको उल्लेख गर्नुभयो । हाँसो र रोदनको सन्तुलित सम्मिश्रण रहेको यस चलचित्रका गीतहरूले दर्शकको मन जित्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो । यो सबै प्रकारका दर्शकले हेर्न मिल्ने गरी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

​पत्रकार सम्मेलनमा बोल्दै कलाकार विजय बरालले चलचित्र ‘मालती मङ्गले’ ले समसामयिक घटनाहरूलाई उठान गरेकाले यसले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने बताउनुभयो । यस्तै नायिका वर्षा राउतले चलचित्रको कथावस्तु र प्रस्तुतिले दर्शकहरूलाई पूर्ण न्याय दिलाउने विश्वास व्यक्त गर्नुभयो । अर्का कलाकार म्याक्सम गौडेलले आफू यसपटक फरक र विशेष भूमिकामा देखिएको बताउँदै पारिवारिक भावना बोकेको चलचित्र सबैका लागि रुचिकर हुने उल्लेख गर्नुभयो । गायिका सलिना विकले वरिष्ठ गायक ढकालसँग साङ्गीतिक सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

यसैबीच, चलचित्रको प्रचारप्रसार र साङ्गीतिक यात्राका क्रममा ‘म्यूजिकल टूर २०२६’ को टोलि बिर्तामोडस्थित वन स्टप मलको परिसरमा विशेष साङ्गीतिक कार्यक्रम आयोजना गरिएको गोर्खा फाउण्डेशनका अध्यक्ष वीरु दर्नालले बताउनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार