भद्रपुर— संकटा फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ एफसी चन्द्रगढीमा जारी ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ। अब सेमिफाइनलमा एपिएफले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ।
निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको हो। सडन डेथमा एपिएफका सरु सुब्बा, हिराकुमारी भुजेल र अञ्जना राना मगरले गोल गरे।
संकटाका प्रतिक्षा राईको प्रहार बाहिरिएपछि एपिएफ भाग्यमानी सावित भयो। संकटाका तर्फबाट सुशीलाकुमारी चौधरी र झुमा विश्वकर्माले मात्र गोल गर्न सके।
खेल अवधिभर संकटाले एपिएफमाथि दबाब बनाए पनि गोल गर्न चुकेको थियो। खेलको ३३ औँ मिनेटमा संकटाका विदेशी खेलाडी डोरा बोआफेमाको प्रहार क्रस बारमा लागेर फर्किएको थियो।
एपिएफकी गीता राना ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक चन्द्रगढी युवा क्लबले जनाएको छ।


















