बिर्तामोड । बिर्तामोडको एक डान्सबारभित्र मध्यरातमा युवा समूहबीच चलेको विवादले उग्र रूप लिँदा दुई जना रगताम्मे भएका छन् । बिर्तामोड नगरपालिका–२ स्थित गन्तव्य डान्सबारमा आइतबार राति १:३० बजेको समयमा भएको उक्त झै–झगडामा मेचीनगर–१ का २० वर्षीय सिद्धार्थ शाही र ३० वर्षीय कर्ण राई घाइते भएका हुन् । घाइतेमध्ये शाहीको टाउकोमा गहिरो चोट लागेको छ भने राईको अनुहारमा नीलडाम र चोट देखिएको छ । दुवैको अहिले बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

​मदिरा सेवनपछिको सामान्य विवादले कुटपिटको रूप लिएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनिबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा मेचीनगर–१२ का निशान लामा र प्रशान्त लिम्बु तथा भद्रपुर–८ का नित्य राजवंशीलाई तत्कालै नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न भनिएका अर्जुनधाराका २० वर्षीय लाक्पा तामाङ भने फरार रहेका छन् । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार