झापा, १७ वैशाख । झापाको कचनकवल गाउँपालिका–३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि भद्रपुर–दलकी भित्री सडक खण्डमा आज बिहान स्कुल बस दुर्घटना भएको छ । दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको विद्यापानी सेकेन्डरी स्कुलको प्र १-०१-००१ ख ४४८२ नम्बरको बसले घरबाट बाटोमा निस्किएको प्र १-०१-०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । बिहान अन्दाजी ९:२५ बजे भएको उक्त दुर्घटनामा बसमा सवार १८ देखि २० जना विद्यार्थीमध्ये १२ जना घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक कचनकवल–३ बस्ने ५२ वर्षीय ओम प्रसाद तिमसिनाको मुख, टाउको र बायाँ खुट्टामा चोट लागेको छ । यस्तै, घाइते विद्यार्थीहरूमा अभिषेक राजवंशी, अर्जुन राजवंशी, धर्मेन्द्र राजवंशी, खुशबु श्रेष्ठ, करण राजवंशी, प्रतीक्षा राजवंशी, वर्तिका राजवंशी, सुमन राजवंशी, सृजना राजवंशी र दिपेन राजवंशी रहेका छन् । उनीहरूमध्ये अधिकांशको अवस्था सामान्य रहेको र टाउको तथा ढाड दुख्ने समस्या देखिएको छ । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ भने २ जना विद्यार्थीलाई अभिभावकले आफैँ उपचारका लागि अन्यत्र लगेको बुझिएको छ ।
घटना लगत्तै बस चालक फरार भएकाले प्रहरीले उनको खोजी कार्य जारी राखेको छ । दुर्घटनामा परेका दुवै सवारी साधनलाई प्रहरी चौकी पथरियाले आफ्नो नियन्त्रणमा लिएको छ । स्थानीय प्रशासन र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेका छन् ।


















