बिर्तामोड, झापा। झापाको बिर्तामोड नगरपालिका वडा नं. २ मा सरकारी तथा सार्वजनिक जग्गाको व्यापक अतिक्रमण भएको पाइएको छ। वडा कार्यालयले हालै तयार पारेको एक आधिकारिक विवरण अनुसार महेन्द्र राजमार्ग आसपासका क्षेत्रदेखि विद्यालय, मन्दिर र खोला किनारका जग्गाहरूमा ठुलो संख्यामा अनधिकृत घरहरू निर्माण भएका छन्।

​वडा कार्यालयको तथ्याङ्कले सार्वजनिक सम्पत्तिको दोहन कति भयावह छ भन्ने तथ्यलाई उजागर गरेको छ। विवरण अनुसार साविक चारपाने २ स्थित महेन्द्र राजमार्गको सरकारी जग्गामा मात्रै २६ वटा घरहरू बनेका छन्। धार्मिक तथा सांस्कृतिक महत्व बोकेका श्रीकृष्ण प्रणामी मन्दिरको जग्गामा ३ घर र शारदेश्वर मन्दिरको जग्गामा ६ घर ठडिएका छन्।

​विशेष गरी शैक्षिक संस्थाका लागि छुट्याइएका जग्गा समेत सुरक्षित नरहेको देखिन्छ। वीर अमरसिंह माध्यमिक विद्यालयको जग्गामा १५ घर र पञ्चरत्न माध्यमिक विद्यालयको जग्गामा १ घर निर्माण गरी वर्षौँदेखि भोगचलन भइरहेको वडा कार्यालयले जनाएको छ।

​अतिक्रमणको सबैभन्दा ठूलो हिस्सा बालुवाटार क्षेत्रमा देखिएको छ, जहाँ ६५ वटा घरहरू निर्माण गरिएका छन्। त्यसैगरी, चैतुवारी क्षेत्रको ऐलानी जग्गामा २९ घर, घाग्रा खोला किनारमा १८ घर र बानालाल टोल पैनीमा ११ घर रहेका छन्। खोला र पैनी जस्ता संवेदनशील क्षेत्रमा भएको यो अतिक्रमणले वातावरणीय जोखिम समेत बढाएको छ।

​स्थानीय टोलहरूमा पनि सरकारी जग्गा व्यक्तिको कब्जामा पुगेको तथ्याङ्कले देखाउँछ। स्वर्गद्वारी टोलमा १३, राधाकृष्ण टोलमा १३, फूलवारी कच्छुवारी टोलमा ८ र सोमवारे टोलमा ६ घरहरू सरकारी जग्गामा रहेका छन्। वडा कार्यालयले यी विवरणहरू संकलन गरे पनि अतिक्रमण हटाउने वा ती जग्गाको व्यवस्थापन गर्ने सम्बन्धमा भने ठोस योजना सार्वजनिक भइसकेको छैन।

​सार्वजनिक जग्गामा यसरी बस्ती नै विस्तार हुँदा भविष्यमा सामुदायिक भवन, खेलमैदान वा अन्य पूर्वाधार निर्माणका लागि जग्गाको अभाव हुने निश्चित देखिएको छ। स्थानीय प्रशासनले बेलैमा चासो नदिँदा यो समस्या थप जटिल बन्दै गएको स्थानीय बासिन्दाहरूको गुनासो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार