बिर्तामोड। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्य र कर्मचारीहरूलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराएको छ । संस्थाले १६४ सदस्य र ११ कर्मचारी गरी १७५ जनालाई एक साता लामो भ्रमण गराएको हो ।
सदस्यहरूको लागत सहभागितामा वैशाख २० गते सुरु भएको भ्रमण टोली शुक्रबार बिहान झापा फर्किएको छ । संस्थाले हरेक वर्ष उत्कृष्ट सदस्यहरूलाई छनोट गरी देशका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण गराउँदै आएको कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिनुभयो ।
भ्रमण टोलीले जनकपुरधाम, देवघाट धाम र पोखराका प्रमुख पर्यटकीय स्थलहरू पुम्दिकोट, डेभिड फल्स, गुप्तेश्वर महादेव, महेन्द्र गुफा र फेवातालको अवलोकन गरेको थियो । त्यस्तै, टोलीले मुक्तिनाथ धामको दर्शनका साथै बागलुङ कालिका, बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल, म्याग्दीको गलेश्वर महादेव र मुस्ताङको मार्फागाउँको समेत भ्रमण गरेको सहभागी नरेन्द्रप्रकाश सिटौलाले बताउनुभयो ।
दर्शन नेपाल ट्राभल्स एण्ड टुर्स उर्लाबारीले व्यवस्थापन गरेको उक्त भ्रमणमा सहभागी सबै १७५ जनाको यात्रा बीमा गरिएको थियो । कोशी प्रदेशका चार जिल्लामा ४४ वटा सेवा केन्द्रमार्फत सेवा दिइरहेको सिम्रिकले सदस्यहरूको मनोरञ्जन र धार्मिक आस्थालाई ध्यानमा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

















