हल्दीबारी, झापा ।झापाको हल्दीबारी गाउँपालिका वडा नं. ५ ले ‘वडा र किसानको साझेदारी कार्यक्रम’ अन्तर्गत वडाभित्रका कृषकहरूलाई करिब १८ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कृषि सामग्रीहरू वितरण गरेको छ। वडाको नीति तथा कार्यक्रम अन्तर्गत विनियोजित बजेटमार्फत किसानहरूलाई व्यावसायिक बनाउने र खेती प्रणालीमा आधुनिकिकरण गर्ने उद्देश्यले ती सामग्रीहरू हस्तान्तरण गरिएको हो।

​वडा अध्यक्ष खड्कबहादुर लावतीको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रममा विभिन्न वर्गका किसानहरूलाई उनीहरूको आवश्यकता अनुसारका उपकरणहरू प्रदान गरियो। जस अन्तर्गत ३८ जना किसानलाई दुई इन्चको मोटर, ३५ जनालाई १.५ इन्चको मोटर, ३५ जनालाई ठेलागाडा र ३० जना किसानलाई इलेक्ट्रोनिक स्प्रे ट्याङ्की वितरण गरिएको छ। त्यसैगरी, मकै खेतीलाई प्रोत्साहन गर्न २० जनालाई मकै रोप्ने मेसिन, २० जनालाई मकै गोड्ने हलो र २१ जना किसानलाई मकै छोडाउने मेसिन उपलब्ध गराइएको छ भने पशुपालनमा संलग्न १६ जना किसानलाई घाँस काट्ने चाप कटर वितरण गरिएको छ।

​सामग्री हस्तान्तरणका क्रममा वडा अध्यक्ष लावतीले वडा र किसानको प्रत्यक्ष साझेदारीमा सञ्चालित यस कार्यक्रमले कृषि क्षेत्रको लागत घटाउन र उत्पादन बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा कार्यपालिका सदस्य सुष्मा महरा र किसानहरूको तर्फबाट विजय फागोले शुभकामना मन्तव्य राख्दै वडाको यो पहलले स्थानीय कृषकहरूमा उत्साह थपेको बताउनुभयो। वडा सदस्य जीवन कन्दङबाले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक, कर्मचारी तथा सञ्चारकर्मीहरूको ठुलो संख्यामा उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार