झापा । झापाको कमल गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं. २ बस्ने ७६ वर्षीय धान्य प्रसाद दुलाल रहेका छन्।
प्रहरीका अनुसार गत वैशाख ३१ गते दिउँसो साढे ३ बजेको समयमा कमल गाउँपालिका-२ समयगढ स्थित भित्री सडक खण्डमा दुर्घटना भएको थियो। क्याम्पा बजारबाट छलफल चोकतर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ९२४७ नम्बरको मोटरसाइकलले पैदल यात्री दुलाललाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका दुलाललाई तत्काल उपचारका लागि कमल नगर अस्पताल क्याम्पा लगिएको थियो। त्यहाँ सामान्य उपचार पश्चात थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी (B&C) अस्पताल रेफर गरिएको थियो। अस्पतालमा उपचारकै क्रममा जेठ ४ गते राति साढे ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक दमक नगरपालिका वडा नं. ४ बस्ने २४ वर्षीय प्रविण ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ।

















