हल्दीबारी (झापा)— हल्दीबारी गाउँपालिका वडा नम्बर ४ मा अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारलाई लक्षित गरी आयोजना गरिएको ३ दिवसीय अचार बनाउने तालिम सम्पन्न भएको छ।

​हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को ५० हजार रुपैयाँ सिलिङ बजेटको आर्थिक सहयोग तथा हल्दीबारी अपाङ्गता स्वावलम्बन संस्थाको आयोजनामा जेठ ५ गतेदेखि ७ गतेसम्म सो तालिम सञ्चालन गरिएको हो।

​तालिमको समापन समारोह गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको प्रमुख आतिथ्यता एवं हल्दीबारी अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष लालबहादुर सावाको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं गाउँपालिका उपाध्यक्ष मैनालीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो। कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष सन्तकुमार थापा, वडा सदस्य सुरेन्द्र बारकोटी, तालिमका प्रशिक्षक दुर्गा ओली र प्रशिक्षार्थी रेणुका सुवेदी लगायतले तालिमको महत्त्व, स्थानीय तहमा आम्दानीको स्रोत र उत्पादित सामग्रीको बजारीकरणका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो।

​अपाङ्गता भएका व्यक्ति तथा पाथिभरा मिलिजुली समूहका सदस्य एवं परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित यस तालिमको समापनका अवसरमा प्रमुख अतिथि लगायत सहभागीहरूलाई उपहार स्वरूप उनीहरू आफैँले तालिममा तयार पारेको अचार प्रदान गरिएको थियो।

​संस्थाका कोषाध्यक्षले दिलकुमार राजवंशी स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको सो समारोहको सहजीकरण संस्थाका सचिव राम टुडुले गर्नुभएको थियो। समापन कार्यक्रममा कार्यपालिका सदस्य भावना दाल दाहाल, वडाका कर्मचारीहरू, संस्थाका पदाधिकारी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार