वीरेन्द्रनगर, सुर्खेत । चोरी-पैठारी, हुन्डी र अवैध आर्थिक कारोबार विरुद्ध आक्रामक बनेको प्रहरीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक ठुलो सफलता हात पारेको छ। सुर्खेत प्रहरीले वीरेन्द्रनगर-६ तल्लो बजारस्थित एक कपडा पसलमा छापा मारी करिब ३ करोड रुपैयाँ बराबरको सुनचाँदीका गरगहना र लाखौँ नगदसहित नेपालगञ्जका एक स्थापित व्यवसायीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका घर भई हाल वीरेन्द्रनगरमा व्यवसाय गर्दै आएका ६३ वर्षीय श्याम सुन्दर अग्रवाल रहेका छन्। उनले कपडा पसलको आवरणमा अवैध रूपमा सुनचाँदी र भारतीय रुपैयाँ धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने समानान्तर ‘अवैध बैंकिङ’ धन्दा चलाउँदै आएको रहस्य खुलेको छ।

​जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको तल्लो बजारमा रहेको ‘शिव इम्पोरियम’ नामक कपडा पसलमा लामो समयदेखि अवैध रूपमा गरगहना र भारतीय रुपैयाँ धितो राखी चर्को ब्याजमा नगद प्रवाह हुने गरेको विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो। उक्त गुप्त सूचनाका आधारमा प्रहरी टोलीले सो पसलमा आकस्मिक छापा हानी खानतलासी गर्दा बरामद भएका सामग्रीहरूले स्वयम् अनुसन्धान अधिकारीहरूलाई समेत स्तब्ध बनाएको छ। प्रहरीले उक्त स्थानबाट बजार मूल्य करिब ३ करोड रुपैयाँ बराबरको विभिन्न डब्बामा लुकाएर राखिएको १८५ थान सुन तथा चाँदीका गरगहना बरामद गरेको छ। यसका साथै उक्त अखडाबाट ८ लाख ११ हजार भारतीय रुपैयाँ र २ लाख १९ हजार नेपाली रुपैयाँ समेत बरामद गरिएको छ।

​राज्यको वित्तीय प्रणालीलाई नै चुनौती दिँदै, कुनै कानुनी अनुमति विना करोडौँको सुनचाँदी धितो राखेर चलाइएको यो धन्दाको पर्दाफास भएपछि देशभरका अवैध धितो कारोबारी, सुनचाँदीका आवरणमा मिटरब्याजी धन्दा गर्नेहरू र हुन्डी सञ्चालकहरूमा ठुलो खैलाबैला मच्चिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको नियमनभन्दा बाहिर रहेर, सर्वसाधारणलाई चर्को ब्याजको पासोमा पार्ने र कालो धन लुकाउने यस्ता अखडाहरू विरुद्ध प्रहरीको यो कारबाहीले देशैभरिका अवैध कारोबारीहरूको सातो उडाएको छ। पक्राउ परेका अग्रवालमाथि बैंकिङ कसुर, अवैध सुनचाँदीको कारोबार तथा सम्पत्ति शुद्धीकरणको कसुर अन्तर्गत विस्तृत अनुसन्धान अगाडि बढाइएको सुर्खेत प्रहरीले जनाएको छ। यो घटनाले उपत्यका बाहिर कपडा र अन्य व्यापारको आडमा भइरहेका ठुला अवैध वित्तीय सञ्जालको कुरुप पाटोलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ। तस्बिर सांकेतिक एआइबाट निर्मित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार