झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले आफ्नो क्षेत्रभित्र कुकुर पाल्नका लागि अनिवार्य रूपमा अनुमति लिनुपर्ने नयाँ नियम लागू गरेको छ।

हालैका दिनहरूमा कुकुरको टोकाइका कारण आम नागरिकहरू समस्यामा पर्न थालेपछि जनस्वास्थ्यको जोखिम कम गर्न र कुकुरको सङ्ख्या व्यवस्थित गर्न वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यस्तो कदम चालेको हो। अबदेखि स्थानीय सरकारको अनुमति बिना कुकुर पाल्न नपाइने चेतावनी दिँदै कार्यालयले सबै कुकुरधनीहरूलाई तत्काल दर्ता प्रक्रियामा आउन आह्वान गरेको छ।फाइल तस्बिर


यस नयाँ व्यवस्थाअनुसार कुकुर दर्ता गराउनका लागि कुकुरधनीले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर र तस्बिर बुझाउनुपर्नेछ भने पालिएको कुकुरको जात, उमेर, लिङ्ग, रङ, उचाइ, लम्बाइ तथा तौलसहितको शारीरिक विवरण खुलाउनुपर्नेछ। यसका साथै कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको प्रमाणित विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम बनाइएको छ।
नेपालका विभिन्न क्षेत्रमा घरपालुवा तथा छाडा कुकुरहरूको व्यवस्थापन चुनौतीपूर्ण बनिरहेका बेला झापाको यस स्थानीय तहले सुरुआत गरेको नियमनको प्रयासलाई महत्त्वका साथ हेरिएको छ।