हल्दिबारी डटकम
Hover Ad Article
अर्थ
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

भद्रपुर भन्सारको राजस्व असुली निराशाजनक: सुर्तीको भरमा मात्र चल्दा व्यापार सुस्तायो

नेत्र बिक्रम बिमली /भद्रपुर । कुनै समय नेपालमै सबैभन्दा बढी कपडाको भन्सार कारोबार हुने ऐतिहासिक साख बोकेको भद्रपुर भन्सार कार्यालयको व्यापारिक अवस्था विगत केही वर्षदेखि भने शून्य जस्तै बनेको छ । अघिल्ला आर्थिक वर्षहरूमा उत्साहजनक राजस्व संकलन गर्दै आएको यस पूर्वी नाकाको कारोबार पछिल्लो समय निकै खस्किएपछि अहिले लक्ष्य भेटाउन समेत धौधौ परिरहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यको २०१ प्रतिशतभन्दा बढी राजस्व उठाएर कीर्तिमान राखेको यस भन्सारमा त्यसपछिका वर्षहरूमा भने व्यापारिक गतिविधि र राजस्व संकलन दुवैमा ठूलो गिरावट आएको तथ्यांकले देखाउँछ ।

Advertisement

​पछिल्ला दुई आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य र प्रगतिबीच ठूलो खाडल देखिनुमा सीमावर्ती व्यापारिक मार्गको फेरबदल र आयात हुने वस्तुको सीमितता मुख्य कारण रहेको पाइएको छ । चालू आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म आइपुग्दा भन्सारले तोकिएको २५ करोड ३ लाख रुपैयाँको वार्षिक लक्ष्यको तुलनामा मात्र ७३ दशमलव ७० प्रतिशत अर्थात् १८ करोड ४४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गर्न सकेको छ ।

Advertisement

यो प्रगति अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को ६२ दशमलव ९७ प्रतिशतको तुलनामा आंशिक सुधार देखिए तापनि भन्सारको ऐतिहासिक साख र क्षमताको तुलनामा भने निकै निराशाजनक हो । वर्षको अन्तिम महिनाहरू जेठ र असारमा क्रमश: ८२ र ७० प्रतिशतको हाराहारीमा प्रगति भए पनि सुरुवाती महिनाहरूमा संकलन सुस्त रहँदा वार्षिक लक्ष्य अधुरै रहन पुगेको छ ।

​कार्यालयको यो खस्किँदो अवस्थाबारे स्पष्ट पार्दै भद्रपुर भन्सार कार्यालयका प्रमुख प्रभु नारायण मेहताले भन्सारको व्यापारिक दायरा खुम्चिनु नै प्रमुख चुनौती रहेको बताउनुभएको छ । प्रमुख मेहताका अनुसार हाल यस भन्सार कार्यालयबाट मुख्य रूपमा सुर्तीको मात्र कारोबार भइरहेकाले राजस्व संकलनमा उल्लेख्य कमी आएको हो । विगतमा जस्तो बहुआयामिक वस्तुहरूको आयात ठप्प भई भन्सार एकल उत्पादनमा निर्भर रहँदा कारोबार शून्य जस्तै देखिन पुगेको उहाँको भनाइ छ ।

भद्रपुर नाकाबाट कपडा लगायतका अन्य सम्भावित वस्तुहरूको व्यावसायिक आयातलाई पुनर्जीवित गर्न सके र सीमापार व्यापारलाई थप सहजीकरण गर्ने वातावरण निर्माण भएमा आगामी दिनमा भन्सारको राजस्व संकलन सोचेभन्दा निकै बढेर जाने विश्वास प्रमुख मेहताले व्यक्त गर्नुभएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)