हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

भारतीय विश्वविद्यालयका एक सय चौध डिग्रीधारीको समकक्षता त्रिविद्वारा रद्द, के हो पूरा मामला?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले भारतका विभिन्न विश्वविद्यालयबाट शैक्षिक उपाधि अर्थात् डिग्री हासिल गरेका एक सय चौध जना विद्यार्थीको समकक्षता प्रमाणपत्र रद्द गरेको छ। केन्द्रले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको पैँतीस दिने म्यादभित्र आवश्यक प्रमाण पेस गर्न नसकेका विद्यार्थीहरूको समकक्षता रद्द गरिएको जनाएको हो।

Advertisement

​भारतका कतिपय शैक्षिक संस्थाहरूले प्रदान गरेका शैक्षिक योग्यतालाई त्यहाँका सरकारी निकायहरूले नै अवैधानिक घोषणा गरेपछि त्रिभुवन विश्वविद्यालयले यस विषयमा छानबिन गर्न एक समिति गठन गरेको थियो। अनुसन्धानका क्रममा कागजातहरू शङ्कास्पद देखिएपछि त्रिविले गोरखापत्र दैनिकमा पैँतीस दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित विद्यार्थीहरूलाई प्रमाण पेस गर्न आग्रह गरेको थियो। तर, उक्त अवधि गुज्रिसक्दा पनि सन्तोषजनक प्रमाण प्राप्त नभएपछि यो कदम चालिएको हो।

Advertisement

​त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका अनुसार सूचनामा उल्लेखित व्यक्तिहरूले पेस गरेका कागजातबाट समकक्षता रद्द गर्नु नपर्ने कुनै विश्वसनीय आधार नदेखिएकाले त्रिवि उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम २०८२ को विनियम २१ बमोजिम यी प्रमाणपत्रहरू रद्द गरिएको छ। यसरी रद्द गरिएका समकक्षता प्रमाणपत्रहरूमा भारतका चारवटा विश्वविद्यालयका विद्यार्थीहरू समेटिएका छन्।

​जसअनुसार भारतको मणिपुरस्थित सङ्गाई इन्टरनेसनल युनिभर्सिटीबाट डिग्री हासिल गरेका ९८ जना विद्यार्थीको समकक्षता रद्द भएको छ। यसैगरी मेघालयको सीएमजे विश्वविद्यालयबाट शैक्षिक उपाधि लिएका १३ जना, टेक्नो ग्लोबल विश्वविद्यालयका २ जना र झारखण्डको प्रज्ञान इन्टरनेसनल विश्वविद्यालयका १ जना विद्यार्थीको समकक्षता प्रमाणपत्र खारेज गरिएको छ। केही विद्यार्थीहरू यसअघि विश्वविद्यालयको सम्पर्कमा आएका भए तापनि प्रक्रियागत र कानुनी मापदण्ड पूरा नभएका कारण अन्ततः उनीहरूको प्रमाणपत्र रद्द गर्ने निर्णयमा त्रिभुवन विश्वविद्यालय पुगेको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)