नरेन्द्र क्षेत्री।नयाँ दिल्ली — लद्दाखका लागि विशेष संवैधानिक ग्यारेन्टीको माग गर्दै प्रख्यात भारतीय सामाजिक तथा वातावरण अभियन्ता सोनम वाङचुकले दिल्लीको जन्तरमन्तरमा थालेको आमरण अनसन तेस्रो सातामा प्रवेश गरेको छ। अनसनकारीहरूको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले विशेष सक्रियता देखाउँदै नयाँ दिल्लीका ३ वटा सरकारी अस्पताललाई हाई अलर्टमा राखेको छ।

स्वास्थ्य मन्त्रालयले डा. राम मनोहर लोहिया (आरएमएल) अस्पताल, सफदरजंग अस्पताल र लेडी हार्डिङ मेडिकल कलेजका विशेषज्ञ टोलीहरूलाई अनसनस्थलमै पुगेर दैनिक २ पटक स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ। लामो समयको भोक हडतालका कारण अनसनकारीहरूको शारीरिक अवस्था ‘बोर्डर-लाइन’ (अत्यन्त जोखिमपूर्ण) तहमा पुगेको र जुनसुकै बेला अंगहरूले काम गर्न छाड्ने जस्तो संकटकालीन अवस्था आउन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।

आपत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले आरएमएल अस्पताललाई ‘नोडल अस्पताल’ तोकेको छ। मन्त्रालयको तालिकाअनुसार यी तीनवटै अस्पतालका चिकित्सक टोलीले आलोपालो गरी हरेक दिन बिहान ९ बजे र राती ९ बजे अनसनकारीहरूको परीक्षण गर्नेछन्। अनसनस्थलमा २४सै घण्टा नर्सिङ स्टाफको टोली तैनाथ गरिएको छ भने २ वटा विशेष प्रकारका ‘एडभान्स्ड लाइफ सपोर्ट’ एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ।
चिकित्सकहरूका अनुसार अनसन सुरु गरेयता अभियन्ता वाङचुकको तौल ९ केजीभन्दा बढी घटिसकेको छ। हाल ५६.९ केजी तौल रहेका उनको ब्लड सुगर ८० mg/dL र पल्स रेट प्रतिमिनेट ७२ छ। उनको रक्तचाप सुतेको अवस्थामा १०५/६१ mmHg र बसेको अवस्थामा १०१/६५ mmHg मापन गरिएको छ। चिकित्सकहरूले वाङचुकको शरीरमा पानीको मात्रा सन्तुलित रहेको र मानसिक रूपमा सचेत देखिए पनि उनको अवस्था नाजुक रहेकाले कडा चिकित्सा निगरानीमा राखिएको जनाएका छन्।
