बनियानी (झापा) — कचनकवल गाउँपालिकाले निर्माण सम्पन्न भएको आधारभूत स्वास्थ्य अस्पताल औपचारिक रूपमा उद्घाटन गरी सञ्चालनमा ल्याएको छ। स्थानीय नागरिकलाई आफ्नै पालिकाभित्र सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ यो अस्पताल सञ्चालनमा ल्याइएको हो। अस्पताल उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उक्त विशेष समारोहमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी र विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विगतमा व्यहोरेको ठुलो भौतिक संकटलाई चिर्दै कचनकवल गाउँपालिकाले यो स्वास्थ्य पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सफल भएको हो। भदौ २३ र २४ गते भएको विध्वंसात्मक आन्दोलनका क्रममा गाउँपालिकाको प्रशासनिक भवन लुटपाट र आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। त्यस कठिन परिस्थितिमा पनि सेवा प्रवाहलाई निरन्तरता दिन गाउँपालिकाले यसै निर्माणाधीन आधारभूत स्वास्थ्य अस्पतालको भवनलाई अस्थायी प्रशासनिक केन्द्रका रूपमा प्रयोग गर्दै आएको थियो। संकटका बीच अस्थायी रूपमा प्रशासनिक सेवा दिएको यस भवनलाई हाल निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएसँगै स्वास्थ्य सेवाका लागि समर्पित गरिएको छ।

संघीय शासन प्रणालीअन्तर्गत स्थानीय तहको स्वास्थ्य सेवा सुदृढीकरणका लागि यो अस्पताल कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। अस्पतालबाट प्राथमिक उपचार, सुरक्षित प्रसूति सेवा, मातृ तथा शिशु स्वास्थ्य, आकस्मिक उपचार, प्रयोगशाला, खोप तथा नसर्ने र सरुवा रोगको रोकथामसम्बन्धी सेवाहरू स्थानीय तहमै उपलब्ध हुनेछन्। यसले स्थानीय नागरिकको उपचारका लागि हुने खर्च, समय र दूरी घटाउनुका साथै ठुला जिल्ला वा प्रादेशिक अस्पतालहरूमा हुने अनावश्यक चाप कम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गाउँपालिकाले लिएको छ।
