हल्दिबारी डटकम
Hover Ad Article
अर्थ
हल्दिबारी संवाददाता ४ घण्टा अगाडि

झापा नाकाबाट अवैध रूपमा भित्र्याइएको २४ बोरा लत्ताकपडा बरामद

हल्दिबारी (झापा) । नेपाल-भारत सीमावर्ती पूर्वी नाका काँकडभिट्टाबाट भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।

Advertisement

​झापाको भद्रपुर भन्सार कार्यालयबाट कपडाको वैधानिक आयात घटिरहेका बेला सीमा क्षेत्रबाट अवैध रूपमा सामान भित्रिन थालेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।

Advertisement

​सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका अनुसार बुधबार बिहान करिब २ बजे मेचीनगर नगरपालिका–८ स्थित सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याइएको २४ बोरा लत्ताकपडा फेला परेको हो।

​बरामद गरिएको कपडाको अनुमानित बजार मूल्य सात लाख ३१ हजार रुपैयाँभन्दा बढी रहेको र त्यसलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकिएको अधिकारीहरूले जनाएका छन्।

​स्थानीय भन्सार कर्मचारी तथा कारोबारी स्रोतहरूका अनुसार पछिल्लो समय भद्रपुर नाकाबाट कपडाको औपचारिक आयातमा भारी गिरावट आएको छ, जसका कारण राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ।

​बिर्तामोडका केही व्यापारीहरूले भन्सार महसुल छल्न सीमा क्षेत्रमा सक्रिय विचौलिया वा ‘लाइनमेन’को प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ।

​भन्सारमार्फत ल्याउँदा एउटा पोकाको १५ हजारदेखि ५० हजार रुपैयाँसम्म राजस्व बुझाउनुपर्नेमा, गैरकानुनी बाटो प्रयोग गर्दा ७ देखि ८ हजार रुपैयाँमै सामान गन्तव्यसम्म पुग्ने गरेको स्रोतको दाबी छ।

​यसअघि सीमा क्षेत्रमा अवैध पैठारी नियन्त्रण गर्न नसकेको भन्दै सशस्त्र प्रहरीका केही कर्मचारी विभागीय कारबाहीमा परेका थिए। त्यसयता सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले जाँच र गस्तीमा कडाइ गरेका हुन्।

​सशस्त्र प्रहरी बल झापाका उपरीक्षक (डीएसपी) सुमन पौडेलले सीमाबाट हुने चोरी-निकासी नियन्त्रणका लागि सुरक्षा निगरानी निरन्तर जारी रहने र गैरकानुनी गतिविधिमाथि शून्य सहनशीलताको नीति अपनाइने बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)