बिर्तामोड (झापा) — जनपक्षीय पत्रकार तथा साहित्यकार स्व. देवकुमार आचार्य (डी कौडिन्य) को स्मृतिमा स्थापित ‘डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार चुडामणी तिम्सिना (सिएम शर्मा) सम्मानित हुनुभएको छ ।

कनकाई सुरुङ्गा निवासी एवं ‘ठोस खबर डटकम’का सम्पादक तिम्सिनालाई बिहीबार बिर्तामोडमा आयोजित एक विशेष समारोहका बिच ४२ हजार रुपैयाँ नगदसहित सम्मानपत्र र दोसल्ला ओढायर पुरस्कार प्रदान गरिएको हो ।

प्रेस सेन्टर नेपाल झापाद्वारा आयोजित कार्यक्रममा कोशी प्रदेशका पूर्व अर्थमन्त्री इन्द्र आङ्बोले तिम्सिनालाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो। सोही अवसरमा पुरस्कृत पत्रकार तिम्सिनाकी धर्मपत्नी सुनिता तिम्सिना तथा स्व. डी कौडिन्यकी धर्मपत्नी यमुना आचार्यलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
तत्कालीन शाही नेपाली सेनाले २०५९ साउन ७ गते झापाको चारआली ब्यारेकमा हत्या गरेका पत्रकार डी कौडिन्यको योगदानको स्मरण गर्दै प्रेस सेन्टर झापाले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधिकारी तथा विभिन्न सञ्चार सम्बद्ध संगठनका प्रतिनिधिहरूले स्व. कौडिन्यको पत्रकारितामा रहेको योगदान र सम्मानित पत्रकार तिम्सिनाको पेसागत निष्ठाबारे चर्चा गर्नुभएको थियो।
