काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला आफ्नै कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छिन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–९, शुभकामना चोककी ४५ वर्षीया रश्मी रिजाल रहेकी छिन्। उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’का रूपमा कार्यरत थिइन्।

साउन ८ गते बिहानदेखि सम्पर्कविहीन भएकी रिजालको शव शनिबार दिउँसो करिब १:०० बजे तारकेश्वर–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरिराखिएको BAE 0410 नम्बरको विद्युतीय कारभित्र फेला परेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार कारको पछाडिको सिटमा शव डढेको अवस्थामा भेटिएको थियो।
घटनास्थल पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। मृत्युको कारण र घटनाको प्रकृतिबारे थप विवरण खोतल्न शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै छानबिन भइरहेको बताएको छ।
सांकेतिक फोटो
