समाचार
हल्दिबारी संवाददाता ५ घण्टा अगाडि

हल्दीबारीमा १७औँ जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्डको तयारी : वडाध्यक्ष थापाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन

झापा। आगामी १७औँ जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगितालाई भव्य र अनुशासित रूपमा सम्पन्न गर्न झापाको हल्दीबारी गाउँपालिकामा सरोकारवाला तथा खेलकुद विज्ञहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

​गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) र झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर सेढाईंको प्रमुख आतिथ्य तथा उपस्थिति रहेको थियो। कार्यक्रममा वडाध्यक्षहरू देवीबहादुर थापा, शुक्ला राजवंशी र सन्तुकुमार थापा लगायतको सहभागिता थियो।

Advertisement

​प्रतियोगितालाई व्यवस्थित, प्रभावकारी र सफलताका साथ अगाडि बढाउन कार्यक्रममा व्यापक छलफल गरिएको छ। सोही छलफल बमोजिम प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि हल्दीबारी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष सन्तुकुमार थापाको संयोजकत्वमा ११ सदस्यीय समिति समेत गठन गरिएको छ।

​गठित समितिमा गाउँपालिकाका पाँचै वडाका वडाध्यक्षहरू, शिक्षा शाखा प्रमुख, गाउँपालिकाका एक जना अधिकृत, जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि र खेलकुद विज्ञहरूबाट चार जना रहने गरी कुल ११ जना सदस्य चयन गरिएको छ।

​झापाका १५ वटै पालिकाका विद्यालयहरूबाट स्थानीय स्तरको प्रतियोगितामार्फत छनोट भएका करिब १,५०० छात्र-छात्रा खेलाडीहरूले यस जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। ३ देखि ४ दिनसम्म सञ्चालन हुने यस खेलकुद महोत्सवलाई निष्पक्ष र चुस्त बनाउन विभिन्न विधाका खेलहरूमा १२० जना प्राविधिक तथा निर्णायकहरू परिचालन गरिने भएको छ।

​प्रतियोगिताका लागि आवश्यक पर्ने आर्थिक तथा भौतिक सहयोग हल्दीबारी गाउँपालिका र जिल्ला खेलकुद विकास समितिको संयुक्त, सहकार्य र समन्वयमा रहने जनाइएको छ।

​अन्तरक्रियाका क्रममा गाउँपालिका अध्यक्ष लिङ्देन, प्रमुख प्रशासक अधिकृत वन तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेढाईंले जिल्लाभरिका प्रतिभावान खेलाडीहरूलाई प्रोत्साहन गर्दै प्रतियोगितालाई ऐतिहासिक रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी तीव्र पारिएको जानकारी दिनुभयो। विद्यालय स्तरबाटै नयाँ खेल प्रतिभा पहिचान गर्न यस प्रतियोगिताले ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article