ओखलढुङ्गा, १० भदौ । सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् चुहावट (सर्ट) भई आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

प्रहरीका अनुसार मङ्गलबार साँझ स्थानीय कोटमाया कार्कीको घरबाट सुरु भएको आगो फैलिएर ज्ञानकुमारी कार्कीको घरसमेत जलेको हो। घटनालगत्तै खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकारको दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, नगद तथा सुनका गहनासहित करिब रु २६ लाख बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ।
अग्निपीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको र घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
