झापा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहतको चरण पूरा गर्दै बाढीप्रभावित क्षेत्रको पुनःस्थापनातर्फ अघि बढेको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएको स्थितिमा विपद् व्यवस्थापन र भौतिक संरचनाको पुनर्निर्माणलाई तीव्र पारिएको छ।

नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार बाढीका कारण हालसम्म १ हजार ५८ जनाको शव फेला परेको छ। फेला परेकामध्ये काठमाडौँमा ४७, चितवनमा २९२, नवलपरासी पूर्वमा १७४, नवलपरासी पश्चिममा ६९, गोरखामा ३९, धादिङमा २५, तनहुँमा १५ र रसुवामा ६ वटा शवको कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका शवहरूको डीएनए नमुना र अन्य पहिचानका आधार सुरक्षित राखी ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम जमिनमुनि व्यवस्थापन भइरहेको छ।

शव तथा अङ्गको पहिचानका लागि नजिकको रगतको नाता (बुबा, आमा, छोरा वा छोरी) ले नेपाल प्रहरी अस्पताल महाराजगञ्ज वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी डीएनए परीक्षण गराउन सक्ने व्यवस्था मिलाइएको छ। विदेशमा रहेका आफन्तका हकमा भने सम्बन्धित देशमै डीएनए परीक्षण गरी त्यसको सफ्टकपी नेपाल प्रहरीको इमेल (dnacodis@nepalpolice.gov.np) मा पठाउन सकिनेछ।
बाढीमा परी हालसम्म ११ हजार ८८४ जनाको सकुशल उद्धार गरिएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। घाइते भएका २९२ जनामध्ये १८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। हाल नुवाकोटमा २,४६६, काठमाडौँमा ३२९, रसुवामा ३९८ र धादिङमा २६० जना गरी विभिन्न होल्डिङ सेन्टर तथा अस्थायी आश्रयस्थलमा नागरिकहरू आश्रय लिइरहेका छन्।
१ अर्ब रकम निकासा, यातायात सञ्चालनको प्रयास
सरकारले राहत र पुनर्निर्माणका लागि १ अर्ब रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत ३ जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ। यसअघि सरकारले रसुवा र नुवाकोटका लागि १/१ करोड तथा धादिङका लागि ५० लाख रुपैयाँ पठाइसकेको थियो।
बाढीले सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। गल्छी–वेत्रावती–रसुवागढी सडकको ८२ किलोमिटरमध्ये ५६ किलोमिटर क्षेत्र पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएको छ। यस्तै ४८ वटा झोलुङ्गे पुल र ३१ वटा मोटरेबल पुल बगेका छन्। हाल पृथ्वी राजमार्गका केही खण्डको लेदो हटाई यातायात सञ्चालन गरिएको छ भने तादी, देवीघाट र बेत्रावती क्षेत्रमा बेलिब्रिज राख्ने काम तीव्र पारिएको छ। मुग्लिन–नारायणगढ सडकको कृष्णभीर खण्ड भदौभित्रै मर्मत गरी सञ्चालनमा ल्याइने जनाइएको छ।
महामारी नियन्त्रण र स्वास्थ्य सतर्कता
प्रभावित क्षेत्रमा सम्भावित महामारी रोक्न ‘विपद्–पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ लागू गरिएको छ। खानेपानी तथा झाडापखालाजन्य रोग नियन्त्रणका लागि ‘सोरमास’ प्रणालीमार्फत निगरानी भइरहेको छ। नेपाली सेनाले किटाणुशोधन तथा सचेतनामूलक माइकिङ गरिरहेको छ भने प्रभावितहरूलाई मानसिक स्वास्थ्य परामर्श र एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ।
अन्तर्राष्ट्रिय सहयोग र जलवायु परिवर्तनको असर
विपद्पछि मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट सहयोग प्राप्त हुने क्रम जारी छ। प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा भएको छ। भारत, चीन, पाकिस्तान, युएई, कतारलगायतका देशले ठूलो परिमाणमा राहत सामग्री, टोली र आर्थिक सहायता उपलब्ध गराएका छन्। चीनसँग थप ३० वटा बेलिब्रिज सहयोगका लागि अनुरोध गरिएको छ। एसियाली विकास बैंक र विश्व बैंकले पनि बजेटरी तथा सहुलियतपूर्ण कर्जाको प्रतिबद्धता जनाएका छन्।
विशेषज्ञहरूसँगको छलफलअनुसार यो विपत्ति हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरो र हिमनदी पग्लेर सिर्जित भएको बताइएको छ। हिमालय क्षेत्रको तापक्रम १.८ डिग्री सेल्सियससम्म वृद्धि हुनुले जलवायु परिवर्तनको गम्भीर असर देखाएको र यस विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा उठाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
