समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

राष्ट्रिय ‘रक्तसम्राट’ कर्माचार्यद्वारा रोल्पाको लिवाङमा १८८ औँ पटक रक्तदान

झापा । नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता तथा ‘राष्ट्रिय रक्तसम्राट’का रूपमा परिचित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रोल्पाको लिवाङ पुगेर १८८ औँ पटक रक्तदान गरेका छन्।

​रक्तदानमार्फत समाजमा स्वयंसेवी रक्तदानको सन्देश प्रवाह गर्दै आएका कर्माचार्यले १८ वर्ष उमेर पूरा भएका तथा कम्तीमा ४५ केजी तौल भएका स्वस्थ युवायुवतीलाई रक्तदानका लागि उत्प्रेरित गर्ने उद्देश्यले देशका विभिन्न जिल्लामा पुगेर स्वयं रक्तदान गर्दै आएका छन्। कर्णाली तथा लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा समेत रक्तदान अभियानलाई प्रोत्साहन गर्दै आएका कर्माचार्यले यसअघि मुगु, जुम्ला, जाजरकोट र सुर्खेतलगायतका जिल्लामा रक्तदान गरिसकेका छन्। त्यसैगरी उनले रसुवा, सिन्धुपाल्चोक, गोरखा, बाजुरा, डडेल्धुरा, नुवाकोट, स्याङ्जा, बाँके, कञ्चनपुरसहित देशका विभिन्न भागमा पुगेर रक्तदान गरिसकेका छन्।

​अध्यक्ष कर्माचार्यले रक्तदानलाई केवल रक्तदान केन्द्र वा शहरमा मात्र सीमित नराखी दुर्गम तथा पहाडी जिल्लासम्म पुगेर स्थानीय युवापुस्तालाई स्वयंसेवी रक्तदानमा जोड्ने अभियान सञ्चालन गर्दै आएका छन्। उनको यस अभियानले ‘रक्तदान जीवनदान हो’ भन्ने सन्देशका साथै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्न सक्छ भन्ने जनचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

​रक्तको अभावका कारण कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ कर्माचार्य लामो समयदेखि स्वयंसेवी रक्तदाता अभियानमा सक्रिय रहँदै आएका छन्। विभिन्न जिल्लामा पुगेर रक्तदान गर्नाका साथै उनले स्थानीय युवायुवतीलाई नियमित रक्तदानमा सहभागी हुन आह्वानसमेत गर्दै आएका छन्। लिवाङमा सम्पन्न १८८ औँ रक्तदानसँगै कर्माचार्यले देशका विभिन्न भूगोलमा पुगेर स्वयं रक्तदान गर्ने आफ्नो महाअभियानलाई निरन्तरता दिएका छन्। 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)