समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

बिर्तामोडको ग्यारेज क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोडस्थित एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ।

​बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा बिहीबार बिहान ४:१० बजे विद्युत् सर्ट भई आगलागी हुँदा क्यान्टिनमा काम गर्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक तामाङ गौरीगञ्ज गाउँपालिका–२ का निवासी हुन्।

​ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा बिर्तामोड नगरपालिका–४ का रवि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेज (ठूला सवारीसाधन मर्मत केन्द्र) को क्यान्टिनबाट आगो सल्किएको प्रहरीले जनाएको छ।

​आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीन वटा खसीबाख्रा र नगद १ लाख रुपैयाँ जलेर नष्ट भएको छ। घटनाबाट क्यान्टिनतर्फ करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

​यसैगरी, बडी ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्सको गोदाममा समेत सामान्य क्षति पुगेको छ। आगो नियन्त्रणमा लिने क्रममा दमकलको पानीले गोदामभित्र रहेका करिब २० देखि २५ बोरा सिमेन्ट भिज्दा २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

​घटनालगत्तै खटिएका सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)