समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

नेपालमा सार्वजनिक खरिदमा कडाइ : १२० फर्म कालोसूचीमा

काठमाडौँ । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई थप जवाफदेही, पारदर्शी र पारदर्शी बनाउन अनुगमन र कारबाहीलाई तीव्र पारेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले गत चैत १३ गतेयता कानुन विपरीत काम गर्ने र तोकिएको जिम्मेवारी पूरा नगर्ने १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ।

​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको अनुगमन कार्यालयले सार्वजनिक निकायबाट सम्झौताअनुसार समयमै काम नगर्ने, ठेक्का सर्त उल्लङ्घन गर्ने तथा गुणस्तरहीन काम गर्ने आपूर्तिकर्ता र निर्माण व्यवसायीमाथि यस्तो कडा कदम चालेको हो।

​सार्वजनिक खरिद प्रणालीमा देखिएका बेथिति अन्त्य गर्न कार्यालयले नीतिगत र संरचनागत सुधारलाई पनि अघि बढाएको छ। यस क्रममा सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनका साथै नियमावलीको पन्ध्रौँ र सोह्रौँ संशोधन प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको कार्यालयले जनाएको छ।

​त्यस्तै, खरिद प्रक्रियालाई थप व्यवस्थित बनाउन वस्तु तथा निर्माण कार्य खरिदका नौ प्रकारका नमुना बोलपत्रसम्बन्धी कागजात (SBD) परिमार्जन गरिएको छ। खरिद प्रक्रियालाई कानुनसम्मत र त्रुटिरहित बनाउन मातहतका ७१२ जना कर्मचारीलाई तालिम समेत दिइएको छ।

​सार्वजनिक खरिद प्रणालीमा अनुशासन, स्वच्छ प्रतिस्पर्धा र पूर्ण जवाफदेहिता कायम गर्न सरकार प्रतिबद्ध रहेको र यस कदमले लापरबाही गर्ने निर्माण व्यवसायीमाथि अंकुश लाग्ने अपेक्षा गरिएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)