सोलुखुम्बुको फेरिचेमा अवतरणका क्रममा फिस्टेल एअर र एअर डाइनेस्टीका हेलिकप्टर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार बिहान करिब सवा आठ बजे भएको उक्त दुर्घटनामा तमिलनाडुका एक भारतीय यात्रुको घटनास्थलमै ज्यान गएको हो। सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले पनि घटनाको पुष्टि गरेका छन्। समुद्री सतहभन्दा करिब चार हजार मिटरभन्दा बढी उचाइमा रहेको उक्त सगरमाथा पदयात्रा मार्गमा यतिबेला शरदयामको पदयात्रा र हिमाल आरोहणका गतिविधि भइरहेका छन्।
लुक्लाबाट जाँदै गरेको र आधारशिविर नजिकैको गोरक्सेपबाट फर्कँदै गरेका दुवै हेलिकप्टर एउटै स्थानमा अवतरण गर्न खोज्दा दुर्घटना हुन पुगेको प्राधिकरणको भनाइ छ। अन्य हेलिप्याड हिउँले पुरिएका कारण एउटै स्थानमा अवतरण गर्ने क्रममा हेलिकप्टरका पङ्खा ठोक्किएको देखिन्छ।
दुर्घटनामा परी दुवै हेलिकप्टरका नेपाली पाइलट र एक न्यूजिल्यान्डका नागरिक घाइते भएका छन्। फिस्टेल एअरका पाइलटलाई थप उपचारका लागि काठमाण्डू लगिएको छ भने अर्का पाइलट र न्यूजिल्यान्डका नागरिकको लुक्लामै उपचार भइरहेको छ। मृतक भारतीय नागरिकको शव पनि लुक्ला अस्पताल लगिएर आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
उड्डयन विज्ञ कुमार चालिसेले यो दुर्घटना स्पष्ट रूपमा उडान संहिता र आधारभूत अनुशासनको उल्लङ्घनका कारण भएको बताएका छन्। उनले नेपालले यस्ता घटनाबाट पाठ सिकेर नागरिक उड्डयन प्राधिकरणमार्फत गम्भीर छानबिन गरी आवश्यक कठोर निर्णय लिनुपर्ने सुझाव दिएका छन्।
