समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

प्रेमिकाको हत्या अभियोगमा मलेसियामा नेपाली सुरक्षा गार्डविरुद्ध मुद्दा दर्ता

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुरमा आफ्नै प्रेमिकाको हत्या गरेको अभियोगमा ४४ वर्षीय नेपाली नागरिक बलबहादुर तामाङविरुद्ध स्थानीय मजिस्ट्रेट अदालतमा मुद्दा दर्ता गरिएको छ।

​मलेसियाली सञ्चारमाध्यमहरूका अनुसार गत अक्टोबर ९ र १० को बीचमा क्वालालम्पुरस्थित ‘जालान हाङ कस्तूरी’ मा रहेको एक होटलको कोठामा २४ वर्षीया नेपाली युवती सन्ध्या तामाङको हत्या गरेको अभियोग उनीमाथि लगाइएको छ। मृतक सन्ध्या मलेसियाको एक कारखानामा श्रमिकका रूपमा कार्यरत थिइन् भने आरोपी बलबहादुर सुरक्षा गार्डका रूपमा कार्यरत थिए।

​आरोपी बलबहादुरलाई ड्याङ वाङ्गी प्रहरी मुख्यालयको आपराधिक अनुसन्धान विभागले कडा सुरक्षाका साथ अदालतमा उपस्थित गराएको थियो। अदालतमा उनलाई मलय भाषामा अभियोगपत्र पढेर सुनाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

​मलेसियाको मुलुकी अपराध संहिता (पेनल कोड) को धारा ३०२ अन्तर्गत हत्यासम्बन्धी मुद्दा दर्ता गरिएको छ। उक्त धाराअनुसार अपराध प्रमाणित भएमा आरोपीलाई मृत्युदण्ड वा ३० देखि ४० वर्षसम्मको कैद सजाय र कम्तीमा १२ पटक कोरा हान्ने सजाय हुन सक्ने कानूनी प्रावधान छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)