झापा । सरकारले नेपाल प्रहरीको नेतृत्वमा आकस्मिक फेरबदल गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोज केसीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बहालवाला आईजीपी कार्कीलाई बर्खास्त गर्दै प्रहरीको सर्वोच्च पदमा केसीलाई पदोन्नति गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएको जानकारी अनुसार बैठकले प्रधानमन्त्री कार्यालयमा नेपाल प्रहरीको महानिरीक्षक स्तरको ‘प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गर्ने निर्णय गरेको छ। सोही नयाँ सिर्जित पदमा पदमुक्त गरिएका दानबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ। यसका साथै मन्त्रिपरिषद्ले नेपाल प्रहरीको नयाँ महानिरीक्षक पदमा मनोज केसीलाई नियुक्त गर्ने निर्णय पारित गरेको छ।

यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को नियमित बैठक बसेको थियो। तर २४ घण्टा नबित्दै बुधबार पुनः डाकिएको आकस्मिक बैठकले प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा यस्तो महत्त्वपूर्ण फेरबदल गरेको हो।